सिनेमा हल भत्किँदा तीनको मृत्यु
लन्डन । उत्तरी अर्जेन्टिनाको टुकुमान सहरमा रहेको एउटा पुरानो सिनेमा हल भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
पुनर्निर्माणको काम चलिरहेकै बेला उक्त सिनेमा हल भत्किएको बिबिसीले उल्लेख गरेको छ ।
भवन भत्किँदा केही कामदार हलभित्रै रहेकाले केही भग्नावशेषमै पुरिएको हुनसक्ने उद्दारकर्मीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनेमा हल भत्किँदा ठूलो विस्फोटको आवाज सुनिएको स्थानीयवासीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । स्थानीयवासीले विस्फोटको आवाज सुनिएको बताए पनि अग्निनियन्त्रकहरुले भने सिनेमा हल भत्किनुका कारणबारे अझै अनुसन्धान भइरहेको जनाएको छ ।
सिनेमा हल करिब ९० वर्ष पुरानो भएको र कैयौं दशकदेखि पार्राभिसिनी सिनेमा हल सञ्चालनमा रहेको बताइएको छ । केही समयपछि उक्त भवनमा चिनियाँ रेस्टुरेन्टसमेत सञ्चालन भएको र भवनको एउटा कुनामा बलिङ अलीसमेत सञ्चालन हुने गरेको बिबिसीले जनाएको छ ।