लालबाबुको सम्पत्तिको वास्तविकता यस्तो !
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डीतको सम्पत्ति विवरण सार्वजनिक भएपछि अनेक किसिमका टिकाटिप्पणी सुरु भएका छन् । चुनावमा गरिब नेता भनेर उनले चन्दा मागे तर अहिले लाखौं रुपैयाँ नगद कसरी आयो भन्ने प्रश्न उब्जेको छ ।
झट्ट हेर्दा यस्तो प्रश्न स्वभाविक पनि लाग्छ । खासमा लालबाबु पण्डीतले बहुदलपछि जति अवसर पाए, त्यसलाई आधार मान्ने हो भने उनीसँग अर्ब बराबर सम्पत्ति हुनुपथ्र्यो । १३ वर्ष अगाडि शान्तिपूर्ण राजनीतिमा आएका र एकाधपटक मन्त्री हुनेबित्तिकै माओवादी नेताहरुको सम्पत्तिको ग्राफ उकालो लागेको छ ।
उनीहरुको तुलनामा लालबाबुको सम्पत्ति धेरै होइन । किनभने उनी ४८ सालदेखि कुनै न कुनै लाभको पदमा छन् । ४८ सालको चुनावमा उनले मोरङ ३ बाट चुनाव जितेका थिए । ५६ सालमा पनि फेरि सांसद भए ।
५४ सालमा सुकुम्बासी आयोगको मोरङका अध्यक्ष पनि भए ।
पहिलो संविधानसभामा पनि उनी समानुपातिक सांसद बने । अल्पसंख्यकहरुबारे सुझाव दिन बनेको संविधानसभाको एक समितिका सभापति पनि भए ।
सांसद नभएको बेला पनि उनी सामान्य प्रशासनमन्त्री बने । सरुवा बढुवामा अलिकति चलखेल गर्ने हो भने एक वर्षमै दुई चार करोड संकलन गर्न सकिने मन्त्रालयको रुपमा सामान्य प्रशासन मन्त्रालय चिनिन्छ ।
सात महिना यता लालबाबुको सम्पत्तिमा ५५ लाख थपिएको छ । गरिब लालबाबुको यति धेरै सम्पत्ति कसरी आयो भन्ने प्रश्न उब्जेको छ ।
लालबाबुसँग लामो समयदेखि काम गरिरहेका स्वकीय सचिव ओसिम आलम भन्छन्, ‘विमला महत( लालबाबुकी पत्नी)ले माइतीले दिएको जमिन बेच्नु भयो । त्यो रकम बैंकमा छ । लालबाबुले ससुरालीको सम्पत्ति भोगचलन गर्दिनँ भन्ने विचार राख्नु भएको छ । ससुरालीको सम्पत्तिमा चुनाव नलड्दा पैसा बचत देखिएको हो ।’
पहिले नै बेचेको जमिनको रकममा ब्याज थपिँदै गयो ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि करिब करिब यति नै सम्पत्ति देखाएका थिए । आलम भन्छन्, ‘अहिले किन दूष्प्रचार भइरहेको छ बुझेको छैन ।’