News मुख्य समाचार

भरतपुरमा यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरमा यति एयरको जहाज आकस्मिक अवतरण

चितवन । भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । 

अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए । 



यति एयरलाइन्सको 9N AIS कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो ।  क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

 

समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरु सकुशल रहेका छन् । उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताउनुभयो ।

 

अर्को जहाजमा इन्जिनियर पनि आएका छन् । चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए । 

यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो । रासस

अवतरण चितवन यति एयर

विशेष