‘आधा उज्यालो’ माथि अन्तरक्रिया
काठमाडौं । कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ कविता संग्रह ‘आधा उज्यालो’ माथि अन्तरक्रिया मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सम्पन्न भयो ।
नवौँ कविता संग्रहको रुपमा प्रकाशित सो कृतिमाथि विज्ञ तथा सर्जकहरूले परिचर्चा गरेका हुन् ।
सुरुवातमा संग्रहबाट ५ थान कविता वाचन गर्दै कवि उप्रेतीले आफ्नो सिर्जनाबारे बोले । अग्रज कविहरू मञ्जुल, श्यामल र त्रिविवि अंग्रेजी विभागका प्रमुख अमरराज जोशी, बिन्दु शर्मा, शेखर खरेल, विजय सुब्बा लगायतले पुस्तकबारे अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रियाको क्रममा कवि मञ्जुलले उप्रेतीको कवितामा सशक्त समयचेत भएको औँल्याए ।
कवि श्यामलले भीष्मका कविताले जीवनबोध गराउने कुराको उल्लेख गरे ।
त्रिविवि अंग्रेजी विभागका प्रमुख अमरराज जोशीले कविताहरू सशक्त र गहिरो अर्थ बोकेको बताए ।
कार्यक्रमको सहजीकरण कवि समालोचक महेश पौड्यालले गरेका थिए ।