सुनको कथा गोरे होईन, "रअ" लाई थाहा छ, नसोध्ने?

राजेश मिश्र 

सुनको कथा गोरे होईन, "रअ" लाई थाहा छ, नसोध्ने?

नेपालका राजनीतिक नेताहरुले देखाउन भारतीय नेताहरुसंगको सम्बन्धको ऐना चम्काएपनि उनीहरुको गुप्त सम्बन्ध भारतीय गुप्तचर संस्थाहरु संग थियो र छ भन्ने कुरा कसैबाट लुकेको छैन। गोरेले कथं कुनै नेताको नाम लिएपनि त्यसको पुष्टि हुने सम्भावना छैन। यो फगत एक राजनीतिक मुद्दाका रुपमा प्रकट भएर कालान्तरमा हराउनेछ। 

राजधानीका निलम्बित अपराध महाशाखा प्रमुख, नेपाल प्रहरीका बरिष्ठ सुपरिवेक्षक दिवेश लोहनीले अन्य आरोपीहरुसंगै लाममा लागेर अदालत प्रवेश गर्नुपर्दा उनको आत्मसम्मानमा वैशाख बाह्रको जस्तो भूइंचालो गएको हुनुपर्छ। 


उनको मनमा उर्लिएको आक्रोशले सम्भवत: उनी भित्रको विवेकको मूलनै सुकाईदियो। आफ्नो तस्वीर लिंदैगरेका एकजना संचारकर्मीलाई उनले अप्रत्याशित रुपमा एउटा "साईड कीक" हानिदिए। 


अहिले संचार माध्यममा तात्तातो माल्पुवाजस्तो बिक्ने तेत्तीस किलो सुन काण्डका बारेमा कुनै नयाँ कुरा आयो कि सबैका कान ठाडा हुन्छन। दिवेश लोहनी यही काण्डमा अपराधीलाई भगाउने मतियारका रुपमा मुद्दा खेप्दैछन।

 
अदालतले अन्तिम फैसला गर्न बाँकी छ। तर त्यो दिन कहिले आउँछ, अहिलेका लागि समाचारका आधिकारिक श्रोत मोरङ जिल्ला अदालतका श्रेष्तेदारसंग पनि यसको जवाफ छैन। गृहमन्त्रालयको अनुसन्धान समितिको म्याद थपिएको छ। अनुसन्धान जारी छ। 
संचारकर्मीहरुले सुन तस्करीका "मूल नाईके" ठहर्याएको गोरे नामका चुडामणि उप्रेती पक्राउ परेका छन्। उनले अहिले सम्म नाम लिएका ठूला प्रहरी अधिकृत बरिष्ठ प्रहरी सुपरिवेक्षक श्याम खत्री मात्र हुन्। तर उनी फरार छन।


"गोरे"ले धरानका एम के अग्रवाल नामका ब्यापारीलाई लगानीकर्ताको रुपमा पोलेका छन्। तर खत्री जस्तै यी अग्रवाल पनि फरार छन्।  उनले आफ्नो बयानमा यो तस्करीको संजालमा नेपालका ठूला नेताहरु पनि संलग्न रहेको कुरा उल्लेख गरेको कुरा समाचारमा आएको छ। तर नाम सार्वजनिक  भएको छैन।


गोरेको बयान अनुसार, उनले दिवेश लोहनीलाई न कहिले चिनेका थिए, न देखेका नै। उनको संजाल भित्र श्याम खत्री र प्रहरी सहायक निरिक्षक बालकृष्ण संजेल थिए। सुन तस्करीकै संगठित अपराधका अर्का आरोपी हेटौंडामा कार्यरत प्रहरी सुपरिवेक्षक बिकासराज खनालको नाम पनि उनले बयानमा उल्लेख गरेका छैनन्। 


दिवेश लोहनीको आदेश अनुसार बालकृष्ण संजेलकै साथमा "गोरेलाई पक्राऊ गर्न" मोरंग हान्निएका प्रहरी उपरिक्षक प्रजित केसी "अपरेशन" कै क्रममा दुई घण्टा "आराम" गर्न कुनै आफन्तका घरमा किन गए? यसको पनि कुनै जवाफ आईसकेको छैन। अनुसन्धान समितिका प्रमुख गृह मन्त्रालयका सहसचिवले भनिसकेका छन्, "यो प्रकरण जेरी जस्तै जेलिएको छ। हामी छानवीन गर्दैछौं।" 


गोरेले हराएको तेत्तीस किलो सुनका बारेमा केरकार गर्दा आफ्ना सहकर्मी सनम शाक्यले ज्यान गुमाएपछि आफूले काका भन्ने प्रहरी नायब महनिरिक्षक गोविन्द निरौला र मामा भन्ने बालकृष्ण संजेललाई फोनबाट सुचित गरेको बताएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा लागू पदार्थ, सुन र हतियार कारोबारको एउटा चक्र छ। त्यो लामो समय देखि घुमिरहेको छ। नेपाल कुनै बेला लागू पदार्थको अवैध ओसारपसारको अन्तरार्ष्ट्रिय "ट्राञ्जीट"का रुपमा कुख्यात थियो। अहिले सुन चर्चामा छ। तर, नेपालबाट तस्करी हुने सुन फेरी घुमेर अन्तर्राष्ट्रिय हतियार व्यापारीहरुलाई भुक्तान गरिने मुद्राका रुपमा प्रयोग हुन्छ भन्ने कुरा राज्य संचालकहरुलाई थाहा छ। यसबारे उनीहरु यसकारण बोल्दैनन् कि यसको जरा भारत संग गाँसिएको छ।


स्टींग अपरेशन 
गोरेको तेत्तीस किलो सुन हराउनु र त्यो संग जोडिएको सनम शाक्य हत्या प्रकरण सतहमा आएसंगै प्रहरीको अनुसन्धान प्रक्रियाको एउटा पाटो पनि सार्वजनिक बहसको बिषय बनेको छ। अन्तर्राष्ट्रिय  जगतमा "स्टीङ अपरेशन" भनिने यो कर्मलाई नेपाली भाषामा गोप्य वा खुफिया कारवाहीका रुपमा बुझ्न सकिन्छ। 


अभियुक्तहरुको बयानका आधारमा अहिलेसम्म खुलेको तथ्य अनुसार, सनम शाक्यको मृत्यु पछि आत्तिएका गोरेले आफ्ना काका र मामालाई फ़ोन गरेपछि सहायक निरिक्षक बालकृष्ण संजेल मार्फत एक महिनादेखि चलिरहेको यो घटना दिवेश लोहनीको जानकारीमा आएको हो। दिवेश लोहनीको बयान अनुसार, संजेलले दिएको जानकारी अनुसार, गोरेसंग लाश व्यवस्थापन गरेर उनलाई उम्काईदिने दुई करोडको "डील" सहित उनलाई पक्राउ गर्ने स्टींग अपरेशनको योजना बुनिएको हो। 


त्यतिबेला संगठनमा तत्कालीन प्रहरी महनिरिक्षक प्रकाश अर्याल बिदा भैसकेको र वर्तमान महनिरिक्षक सर्वेन्द्र खनालले पदभार ग्रहण नगरेको संक्रमणकालीन स्थिति थियो। बमबहादुर भण्डारी निमित्त प्रमुख थिए। लोहनीले भण्डारीलाई विषयबस्तुको जानकारी दिएर उनीबाट हरियो संकेत पाएपछि मात्र उपरिक्षक प्रजीत केसी सहित बालकृष्ण संजेलको टोली बीपी राजमार्ग हुँदै रातारात मोरंग हान्निएको थियो। 


यसबीचमा गोरे र उनका मतियारहरुसंग पटक पटक प्रहरी टोलीको टेलिफोन सम्पर्क भयो। तर यो खुफिया टोलीले "गोप्यता भंग हुने" डरका कारण सम्बन्धित ईलाकाको प्रहरीलाई खबर गर्नु आवश्यक ठानेन।



उचित अभ्यास 
नेपाल प्रहरीका एक पूर्व नायब महनिरिक्षकका अनुसार, यस्तो प्रचलन अमेरिकामा सबैभन्दा बढी देखिन्छ भने स्वीडेनमा यो गैरकानूनी हो। स्वीडेन लगायतका स्क्याण्डिनाभियन मुलुकहरुमा सही परिणाम हासिल गर्नकै लागि पनि राज्ययन्त्रले कानून उल्लङ्घन गर्न नपाउने मान्यता कायम छ। तर अमेरिकामा यसका बिपरित कानुनका पहरेदारहरुलाई कानून उल्लङ्घन गरेरै भएपनि अपराधी पक्राउ गर्ने छुट छ। 


यो प्रचलन अनुसार, अमेरिकी एफ बी आईका सदस्यहरु बर्षौं सम्म लागू पदार्थका कारोबारीहरू, हुण्डीका व्यापारीहरु, कालोबजारी र आतंकवादी संगठनभित्र मतियारका रुपमा काम गर्छन। आफ्नो कामगर्दा उनीहरुलाई यस्ता समूहले गर्ने सबै किसिमका गतिविधिहरुमा संलग्न हुने मात्र होईन, परिआएको अवस्थामा कुनै व्यक्तिको ज्यानै लिने पनि छूट हुन्छ।

 

अमेरिकी रक्सी पसलहरुमा कम उमेरका ग्राहकलाई चुरोट वा रक्सी किन्न पठाएर पसलेले कानून बिपरित बेचबिखन गरेमा उनीहरुलाई कानूनी दायरामा ल्याएर दण्डित गर्ने काम दिनहुँ हुन्छन। बेश्याबृत्तिको संजाल ध्वस्त पार्ने नाममा प्रहरीहरुनै न्यूयोर्क सहरमा दलाली गर्दै हिंडछन्। 



नेपालको अभ्यास 
तर नेपालमा प्रहरीको यो पछिल्लो स्टींग अपरेशन किन सफल भएन? उर्लाबारीमा हत्या गरेर धरान पुर्याईएको सनम शाक्यको लाश प्रहरीले धरानको भानुचोकमा फेला पारेर, एक रात ईटहरीमा बास बसेर, बिराटनगर पुगेर "बरामद" गरेको नाटक गर्दा समेत गोरे कसरी फरार भयो? अनि गोरे फेला नपरेपछि, स्टींग अपरेशनका स्थलगत कमान्डर प्रजीत केसी सहायक निरिक्षक बालकृष्ण संजेलको फोन आफूले लिएर दुई घण्टा "आराम गर्न" किन बेपत्ता भए?


यो लेखकसंग लामो फोनवार्ता गरेका अवकाश प्राप्त एक प्रहरी नायब महनिरिक्षकले आफ्नो नाम उल्लेख नगर्ने अनुरोध गर्दै भने, "नियतमा खोट भएको "स्टींग अपरेशन" सफल हुँदैन।" 


"हामी नेपालका बासिन्दा हौँ, हाम्रो तुलना अमेरिकी वा स्वेडिशहरुसंग हुनै सक्दैन," उनी भन्छन, "यहाँ रात गए अग्राख पलाउँछ, मान्छे ठाउँको ठाउँ बिक्री हुन्छन।"

 


उनको आशय थियो, दिवेश लोहनीलाई शंकाको सुविधा दिने ठाउँ छ। उनले राम्रै आशयले यो योजना बुनेका हुन सक्छन । तर प्रहरी संगठन नै यस्तो हो, राम्रै नियतले गरेको काममा पनि तलकाले बिगारिदिए भने त्यसको जिम्मेवारी आफूले लिनुपर्छ।
"दिवेश लोहनी क्षमता र भविश्य भएका एक राम्रा अधिकृतको छवी बनेका व्यक्ति हुन्। यसै मेसोमा परेका सुपरिक्षक विकासराज खनालको अपराध पनि श्याम खत्री अन्तर्गत एउटै पोष्टमा खटिनु मात्र पनि हुनसक्छ। प्रहरी संगठनभित्र राजनीतिक दलहरुमा भन्दा बढी राजनीति हुन्छ। 


तर हामीले यसै भन्ने कुरा हुँदैन। प्रमाणका आधारमा न्याय गर्ने काम अदालतको हो," उनी भन्छन, "दिवेश लोहनीले पत्रकारलाई आक्रमण गरेको घटना उनीभित्र गुम्सिएको 'फ़्रस्ट्रेसन' अचानक बिष्फोट भएको पनि हुनसक्छ। फोर्सका मान्छेले यस्तो हर्कत देखाउनु स्वाभाविक हो।" 

नेपालका राजनीतिक नेताहरुले देखाउन भारतीय नेताहरुसंगको सम्बन्धको ऐना चम्काएपनि उनीहरुको गुप्त सम्बन्ध भारतीय गुप्तचर संस्थाहरु संग थियो र छ भन्ने कुरा कसैबाट लुकेको छैन। गोरेले कथं कुनै नेताको नाम लिएपनि त्यसको पुष्टि हुने सम्भावना छैन। यो फगत एक राजनीतिक मुद्दाका रुपमा प्रकट भएर कालान्तरमा हराउनेछ। 

  
कानूनको अभाव 
"स्टींग" वा "अण्डरकभर" अपरेशन वा खुफिया कारवाही जे भने पनि, यस्ता जोखिमपूर्ण योजनामा प्रहरी कुन हद सम्म अघि बढ्न सक्छ वा मिल्छ भन्ने कुराको कुनै कानूनी आधार छैन। न यस्ता कारवाहीमा अपनाउनु आवश्यक "स्ट्याण्डर्ड अपरेसन प्रोसेड्युर" छ, न त कुनै नियमावली।

 

प्रहरीको लागू पदार्थ नियन्त्रण ईकाईमा लामो समय बिताएका अर्का एक प्रहरी अधिकृत भन्छन, "हामी पनि कसैलाई थाहा नदिई, खरिदकर्ता बनेर अपराधी सम्म पुग्ने प्रयास गर्थ्यौं। त्यो बेला कुनै तलमाथि भएर अप्रीय निर्णय लिनुपर्दाको परिणाम के होला भन्ने चिन्ता हामीलाई संधै हुन्थ्यो।" उनले गर्व गरे, "म भाग्यमानी थिएँ। मेरो युनिटका सबै अफिसरहरू ईमान्दार थिए। त्यसैले मैले यस्तो झमेलाको सामना गर्नुपरेन।"

 


प्रहरीद्वारा संचालित यस्ता खुफिया कारवाहीलाई कानून भन्दा पनि माथिल्ला अधिकृतहरुको तजबीजी विवेकको भरोसा हुनेगर्छ। 
नेपालको ईतिहासमा हत्याको अभियुक्त तस्करलाई उन्मुक्ति दिने आश्वासन सहित करोडौं रुपियाँको "डील" गरेर बुनिएको खुफिया कारवाहीको घटना यो पहिलो हो। जो असफल भयो वा तुल्याईयो, यसको सत्यतथ्य खुल्न बाँकी छ। 


तर गुण्डाहरुको सफाया गर्ने अपरेशन नेपालमा पछिल्लो समय प्रचलित छ। दिनेश चरीलाई गोली ठोक्दा एमालेले आकाश उचाल्यो। कुमार घैंटेलाई 'ईङ्काउण्टर' गर्दा कांग्रेसले आन्दोलननै गर्यो। मनोज पुनको पनि रुपन्देहीमा प्रश्नवाचक ढंगले गैरन्यायिक हत्या भयो। यसबारेमा भएका छानवीनले कसैलाई दोषी ठहर्याएन। घटनाहरु सामसुम भए।


कानूनको अभावमा घटनामा संलग्न प्रहरीलाई माथिल्ला हाकिमहरुको भरथेग भए पुग्छ। माथिल्ला हाकिमहरुलाई नेताहरुको आशिर्वाद। नेपालका नेताहरुलाई अरुले आशिर्वाद दिने बाध्यता छैन। उनीहरु स्वयं जनताले चुनेका जनताका भाग्यविधाता हुन्। 



सुनको संजाल
गोरे पक्राउ पर्नुअघि नेपाली संचार माध्यमका लागि उनि नेपालमा हुने सम्पूर्ण सुन तस्करीका नाईके थिए। गोरे पक्राउ परेपछि उनी फगत एक निम्नस्तरका भरियाका नाईके थिए भन्ने कुराको पुष्टि भयो।

 

गोरेले अहिले सम्म पोलेको नाममा धरानको एम के अग्रवाल भन्दा अरु कसैको नाम सतहमा आएको छैन। उनले नेपालका राजनीतिक नेताहरुको समेत संलग्नता तर्फ संकेत गरेको कुरा बयानबाट थाहा हुन्छ। तर उनले कसैको नाम लिएको कुरा प्रकाशमा आएको छैन। गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा गठीत छानवीन समितिले "केही व्यक्तिको नाम आएको" बाहेक अरु कुरा खोलेको छैन। 


नेपालबाट तस्करी हुने सुनको गन्तब्य भारत हो भन्ने कुरा रहस्य होईन। भारतमा त्यो सुन कसरी खपत हुन्छ? के त्यो सुनको गहना बन्छ? बन्दैन। अन्तर्राष्ट्रिय बजारमा लागू पदार्थ, सुन र हतियार कारोबारको एउटा चक्र छ। त्यो लामो समय देखि घुमिरहेको छ। नेपाल कुनै बेला लागू पदार्थको अवैध ओसारपसारको अन्तरार्ष्ट्रिय "ट्राञ्जीट"का रुपमा कुख्यात थियो। अहिले सुन चर्चामा छ। 


तर नेपालबाट तस्करी हुने सुन फेरी घुमेर अन्तर्राष्ट्रिय हतियार व्यापारीहरुलाई भुक्तान गरिने मुद्राका रुपमा प्रयोग हुन्छ भन्ने कुरा राज्य संचालकहरुलाई थाहा छ। यसबारे उनीहरु यसकारण बोल्दैनन् कि यसको जरा भारत संग गाँसिएको छ। भारतीय खुफिया संस्था रअ स्वयं यो लागूपदार्थ, सुन र हतियारको चक्रमा संलग्न रहेको कुरा द ईकोनोमिष्ट र फरेन पोलिसीजस्ता अखबारमा छापिएका खोजमुलक रिपोर्ट पढ्दा मात्र पनि सामान्य अनुमान लगाउन सकिन्छ। 


नेपालका राजनीतिक नेताहरुले देखाउन भारतीय नेताहरुसंगको सम्बन्धको ऐना चम्काएपनि उनीहरुको गुप्त सम्बन्ध भारतीय गुप्तचर संस्थाहरु संग थियो र छ भन्ने कुरा कसैबाट लुकेको छैन। गोरेले कथं कुनै नेताको नाम लिएपनि त्यसको पुष्टि हुने सम्भावना छैन। यो फगत एक राजनीतिक मुद्दाका रुपमा प्रकट भएर कालान्तरमा हराउनेछ। 

 


सुन तस्करी, गोरेको गिरफ्तारी अनि प्रहरीको असफल "स्टींग अपरेशन" एउटा "डाईभर्सन" हो। सुन तस्करीले अर्को मार्ग पहिल्याउनेछ। सत्तामा पुगेका कुन पार्टीको कुन नेताले त्यो पंहेलो रंगको स्वाद चाखेको छैन र?  

राजेश मिश्र बिचार गोरे

संम्बधित खबर

विशेष