News कला साहित्य

खप्तड चिनाउन काव्य यात्रा  

खप्तड चिनाउन काव्य यात्रा  


खप्तड–राजधानीको कन्सेप्ट नेपालले सुदूरपश्चिमको खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरेको खप्तड काव्य यात्रा २०७५ समापन भएको छ । जेठ ६ गते सुरु यात्रा १३ गते समापन भएको हो । 


काव्य यात्रीले खप्तडमा जेठ १० गते गंगा दशहरा मेला भरेका थिए । यात्रामा कवि, कलाकार र पत्रकारको सहभागिता थियो । उनीहरुले खप्तडमा तीन रात विताए । त्यहाँ पाटन, सहस्रलिंग, खप्तड ताल, घोडा दाउने, केदार ढुँगा, त्रिबेणीधाम लगायत सम्पदा भ्रमण गरेका छन् । 
साथै शैलेश्वरी मन्दिर, सालमुनि मन्दिर, भागेश्वर लगायत सम्पदाको समेत दर्शन गरेका छन् । साथै काव्य यात्रामै भेट्रान साइक्लिष्टहरु देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौडेल र गोपाल श्रेष्ठले खप्तड क्षेत्रमा साइक्लिङ पर्यटनको संभावना अध्ययन गरेका छन् । 


यात्रामा साइकिष्टका साथै व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, घनश्याम खड्का, निमेष निखिल, हेमन्त विवश, हेमन यात्री, गनेस पौडेल, सागर उदास, आरके अदिप्त गिरि, उदय अधिकारी, अमृत सुवेदी, दिपेन्द्रसिंह थापा, टोपेन्द्र शाह, सुरेन्द्र राना, होमनाथ भण्डारी, चन्द्र काफ्ले, तारानाथ पहारी, अरुण बम र अमृत भादगाउँले सहभागि बनेका थिए ।  


यात्रामै कन्सेप्ट नेपालले डोटीका तीन जना लोकसंस्कृतिकर्मीलाई खप्तड काव्य सम्मान प्रदान गर्यो । शैलेश्वरी मन्दिर हातामा कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्क्ली कलाकार पदम नेपालीलाई दश हजार रुपैयाँसहित सम्मान गरियो । उनीहरुलाई प्रमुख अतिथि व्याकुल माइलाले सम्मान पत्र प्रदान गरेका थिए ।   


पुरस्कार छनोट समितिका संयोजक कवि हेमन्त विवश थिए । आगामी दिनमा गायिका डिक्रादेवीलाई सम्मान गरिने उनले जानकारी दिएका छन् । 
आयोजकले यात्रा अनुभव संगालो एउटा पुस्तक र खप्तड चिनाउने बृत्तचित्र निर्माण गर्ने जानकारी दिएको छ । ‘आध्यात्मीक गन्तव्यका रुपमा खप्तडको ब्राण्डिङ गरी पर्यटन बजारमा पस्किनु जरुरी छʾ, काव्य यात्राका संयोजक पत्रकार अमृत भादगाउँले भन्छन्, ‘हाम्रो यात्राले खप्तडको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।’


दशहरा मेलाको अबसरमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आयोजना गरेको खप्तड पर्यटन महोत्सवको उद्घाटन राष्ट्रिय गानका लेखक व्याकुल माइलाले गरेका थिए । खप्तड पुग्नु अघि धनगढीमा सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपी हमालले यात्राका संयोजक भादगाउँलेलाई राष्ट्रिय झण्डा दिएपछि यात्रा शुभारम्भ भएको थियो । त्यस्तै हवाई संग्रहालयका सञ्चालक क्याप्टेन वेद उप्रेतीले संग्रहालयमा काव्य यात्रीको स्वागत गरेका थिए ।  


काव्य यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीहरुमा डोटी उद्योग वाणिज्य संघ, रैका टुर्स एण्ड ट्राभल्स, पूर्वी चौकी गाउँपालिका डोटी, नव जीवन सहकारी धनगढी, एभियसन म्युजियम काठमाडौं, शिखर नगरपालिका–१० डोटी, खप्तड राष्ट्रि«य निकुञ्ज, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति लगायत छन् ।
 

खप्तड काव्य यात्रा  

विशेष