प्रयोजनमा नआएपछि १८ हजार नागरिकता कार्ड नष्ट
जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय १८ हजार नागरिकताका कार्डहरु जलाएको छ । प्रयोजनमा ल्याउन नमिल्ने भएपछि बुधबार प्राङ्गणभित्रै १७ हजार ९ सय ५३ नागरिकताका पुराना कार्डहरु कार्यलयले जलाएर नष्ट गरेको हो ।
सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि कार्डहरूको आवश्यकता नभएपछि कार्ड नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । उनका अनुसार अघिल्लोे वर्षसम्म दुर्गम क्षेत्रमा आयोजना गरिने घुम्ती शिविरहरुमा ती नागरिकता कार्डहरु प्रयोजनमा ल्याइएको थियो ।
तर अहिले घुम्ती शिविरमा पनि कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गरिएको छ ।
कार्यालयले स्टोरमा थन्किएका पुराना कागजातहरु समेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुन प्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ साल सम्मका चलानी रजिष्टरहरु समेत नष्ट गरिएको बताउनुभयो ।