News समाज

कर्णालीमा हवाई भाडा समायोजन भाडादर ३२ प्रतिशतले घट्यो

कर्णालीमा हवाई भाडा समायोजन भाडादर ३२ प्रतिशतले घट्यो

कर्णाली प्रदेशका जिल्लामा हवाई भाडादर पुनरावलोकन तथा समायोजन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीका दुर्गम तथा हिमाली जिल्लामा सात वर्षपछि भाडादर पुनरावलोकन गरेको हो ।

 

अब प्राधिकरणले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्लामा नियमित उडान गर्नेछ । कर्णालीका दुर्गम जिल्लामा चार्टर उडान बन्द गर्ने निर्णयसँगै प्राधिकरणले भाडादर समायोजन गरेको हो ।


दुर्गममा भाडादर समायोजन
कर्णाली लगायतका सबै दुर्गम जिल्लामा भाडादर पुनरावलोकन गरिएको प्राधिकरणले जनाएको छ । विमान कम्पनीसंँगको सम्झौताअनुसार कर्णालीका जिल्लामा चार्टर उडान बन्द गरी नियमित सेड्युलमा उडान भर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । दुर्गम क्षेत्रको भाडादर पुनरावलोकन तथा समायोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गएको वैशाख २६ गते मन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरेको तिवारीले बताए ।

कर्णाली तथा दुर्गम हिमाली जिल्लामा तारा, गोमा, सीता, मकालु र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् । लामो समयदेखि कर्णालीका जिल्लामा उडान भर्दै आएको तारा एयरले अब चार्टन उडान नगर्ने र नियमित सेड्युलमा मात्र उडान भर्ने तयारी गरेको तारा एयरका नेपालगन्ज स्टेसन प्रमुख दिलीप कार्कीले बताए ।


नियमित उडानमा ३२ प्रतिशत कम भाडा
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगन्ज–डोल्पाको भाडादर पाँच हजार तीन सय १० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि नेपालगन्ज डोल्पाको भाडादर आठ हजार आठ सय १५ रुपैयाँ थियो ।

त्यस्तै, यसअघि नेपालगन्जबाट सिमिकोटका लागि सात हजार एक सय ९०, राराका लागि पाँच हजार आठ सय ४०, जुम्ला र बाजुराका लागि पाँच हजार चार सय ४० एकतर्फी भाडादर कायम थियो । अब सबैतिर विगतको भाडादरमा ३२ प्रतिशतले कमी गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


चार्टर उडानमा भने ३५ प्रतिशत वृद्धि
नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानमा भने ३५ प्रतिशत भाडा वृद्धि गरेको छ । डोल्पाबाट नेपालगन्जका लागि यसअघि चार्टर भाडादर तीन हजार आठ सय १५ रुपैयाँ थियो । अब बढेर पाँच हजार एक सय पुगेको जुफाल विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

अब यात्रुले नियमित उडानमै यात्रा गर्न पाउने भएकाले चार्टर भाडा महँगो भए पनि यात्रुलाई कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा नेपालगन्ज विमानस्थलबाट दुर्गम तथा कर्णालीका जिल्लामा ४१ हजार उडान भएका छन् ।
४१ हजारमध्ये नियमित सेड्युलका आठ हजार र बाँकी सबै चार्टर उडान रहेका प्राधिकरणका नेपालगन्ज प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

नियमित उडान हुँदा नागरिकलाई ठूलो राहत हुने उनले बताए । पछिल्लो समय हवाई यात्रुबाट हुम्लाको मानसरोवर जाने तीर्थयात्री बढेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्णाली प्रदेश भाडादर पुनरावलोकन

विशेष