News मुख्य समाचार

बजेटमाथिको छलफलका क्रममा सत्ता‍रुढ दलकै सांसद बहर्ष न विस्मात भन्दै रोएपछि‍‍.....

‘अर्थमन्त्रीले सोच्नुहोस्, कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाईदैन’

बजेटमाथिको छलफलका क्रममा सत्ता‍रुढ दलकै सांसद बहर्ष न विस्मात भन्दै रोएपछि‍‍.....

काठमाडाै‌ं । अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै सत्तारुढ दलका सांसद गजेन्द्रबहादुर महत  प्रतिनिधिसभा बैठकमै राेएका छन् ।

 

२०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधिसभा बैठकमै रुएका हुन् । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको टिप्पणी उनले गरे ।

 

 ४ करोडले आफूहरुको असाध्यै अपमान गरेको भन्दै सांसद गजेन्द्रले भने, ‘स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने ? कही मिल्ने कुरा हो ? कसैले सहन्छ ।’ आफ्नो विरोधले केही नहुँने जान्दा जान्दै पनि आफूले बजेटप्रतिको असन्तुष्टि राख्नु परेको उनको भनाइ थियो ।

 

‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन’, उनले अगाडि भने, ‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईँहरुको विरोधले मलाई केही हल्लाउँदैन । मैले त्यही शब्द सापटी लिएँ ।  विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’

 

बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गरे । ‘बजेट मेरा लागि आकाशको फल आँखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न  हर्ष न विस्मात छ’, उनले भने, ‘मेरा लागि र मेरो जुम्लाका लागि ।’

 

रोजगारीको जिम्मा सबै बैंकलाई र स्वास्थ्यको जिम्मा बीमा संस्थानलाई दिने सरकारको नीति गलत भएको टिप्पणी गरे । ‘हिजोका सामन्त र मुखियाहरुले आज बैंक थापेर बसेका छन्, जसलाई रोजगारीको जिम्मा लगाइएको छ । स्वास्थ्यको जिम्मा बीमा संस्थानलाई लगाइएको छ । कर्णाली र जुम्लाका नागरिक बीमाको कागत लिएर कहाँ जाने ? काठमाडौं आउन जान ५० हजार रुपैयाँ भाडा लाग्छ’, सांसदले प्रश्न गरे, ‘बीमा कागज लिएर म कता जाने ?’

 

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै उनले अनुपस्थित सांसदहरुप्रति सभामुखको ध्यानाकर्षण गराए । उनले सांसदलाई अपमान नगर्न अर्थमन्त्रीलाई सचेत पनि गराए । उनले भने, ‘अर्थमन्त्रीले सोच्नुहोस्, कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाईदैन ।’

बजेट गजेन्द्रबहादुर महत 

विशेष