News देश प्रदेश ६

मूल्यसूची नपुग्दा जुम्लाका सर्वसाधारणले चामल खरिद गर्न पाएनन्

मूल्यसूची नपुग्दा जुम्लाका सर्वसाधारणले चामल खरिद गर्न पाएनन्

काठमाडाैं । तीन साताअघि नेपालगन्जबाट तीन सय ४० क्विन्टल चामल हेलिकोप्टरमार्फत नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्ला पुगेको छ । तर, काठमाडौंबाट मूल्यसूची नपुग्दा सर्वसाधारणले खरिद गर्न पाएका छैनन् ।

 

‘चामल किनौँला भनेर खेतीपाती छाडेर आएको थिएँ, मोल तोकिएको छैन भनेर रित्तै हात फर्काइदिए,’ पातारासी गाउँपालिका–३ का कृष्ण बुढाले भने । उनले गाउँबाट पाँच घन्टा हिँडेर खाद्य संस्थानमा पुगेको बताए । बजारको भन्दा सस्तोमा खरिद गर्न पाइने भएकाले संस्थानमै आएको उनको भनाइ थियो ।

 

खाद्य संस्थानले ३४ रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने चामल बजारमा प्रतिकिलोग्रामको ५० रुपैयाँ पर्छ । चामल अभाव देखाउँदै कतिपय व्यापारीले त्यो भन्दा महँगोमा पनि बेच्ने गरेका छन् । त्यस्तै, संस्थानले अरुवा मोटो चामल प्रतिकेजी ४०, अरुवा मकवानपुर ३९, उसिना चामल ३४, मध्यम ४५ र सोना मन्सुली ४९ रुपैयाँमा बिक्री गर्छ भने बजारमा झन्डै दोब्बर पर्ने गरेको छ ।

 

खाद्य संस्थान जुम्लाका अनुसार उपभोक्तालाई बिक्री गर्ने चामल सकिएको छ । नयाँ आएको जापानिज चामलको मूल्य निर्धारण नहुँदा बिक्री नगरिएको खाद्य संस्थान जुम्लाका वरिष्ठ सहायक घनश्याम अर्यालले बताए । ‘केन्द्रले चामलको मूल्य तोकेर पठाएको छैन, मूल्य नतोकिँदासम्म बिक्री गर्न सकिँदैन,’ उनले भने ।


कति छ चामल ?
खाद्य संस्थान जुम्लाको गोदाममा पुरानै ३८ क्विन्टल चामल मौज्दात छ । कारागारलाई ११ क्विन्टल चामल दिनुपर्ने भएकाले बिक्री गरिएको छैन । जन्म र मृत्युमा दिने चामल पनि उपलब्ध गराउन नसकिएको संस्थानले जनाएको छ ।

 

तीन साताअघि खाद्य संस्थान नेपालगन्जबाट तीन सय ४० क्विन्टल ५० किलोग्राम चामल जुम्ला पुगेको छ । जुन, खाद्य संस्थान केन्द्रीय कार्यालय काठमाडौंले मूल्यसूची नपठाउँदा बिक्री नगरी गोदामै थन्क्याइएको छ ।


दुई हजार क्विन्टल आवश्यक
यस वर्ष जुम्लाका लागि आठ हजार क्विन्टल चामल कोटा तोकएको छ । जसमध्ये, नेपालगन्ज, सुर्खेत र राजापुरबाट दुई–दुई हजार क्विन्टल चामल आउने खाद्य संस्थान जुम्लाले जनाएको छ ।

 

जुम्लाबाट डोल्पाको काइगाउँ, दुनै, सर्मी र लिकु डिपोमा पनि वितरण हुने गरेको छ । अहिलेसम्म ६ हजार क्विन्टल चामल ढुवानीका लागि ठेकेदारसँग सम्झौता भएको संस्थानका निमित्त प्रमुख पूर्णबहादुर थापाले बताए । ‘दुई हजार क्विन्टल चामल कहाँबाट ल्याउने भन्ने यकिन छैन,’ उनले भने । दुई हजार क्विन्टल चामल नआए खाद्यान्न अभाव हुने उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट  । 

नेपाल खाद्य संस्थान जुम्ला

विशेष