News अपराध सुरक्षा

३८ क्वीन्टल सुनकाण्डमा एसएसपी श्याम खत्री जेल चलान

३८ क्वीन्टल सुनकाण्डमा एसएसपी श्याम खत्री जेल चलान

 काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई पुपर्क्षका लागि जेल चलान गरिएको छ ।जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो ।

 

विहिबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका श्याम खत्रीको बिहीबार नै बयान र थुनछेक बहस भएको थियो । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।

 

यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो । खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको थियो ।

 

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

 

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

 

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले बरामद गरेको साढे ३३ केजी सुनमा पनि पक्राउ परेका खत्री पछि धरौटीमा छुटेका थिए ।

 

पछिल्लो यस सुन प्रकरणमा प्रहरीका पुर्व तथा वर्तमानगरी करिब एक दर्जन प्रहरी अधिकारीविरुद्ध मुद्धा चलाईएको छ। अधिकांश पुर्पक्षका लागि जेलचलान भएका छन्।

एसएसपी श्याम खत्री सुन तस्करी प्रकरण

विशेष