News विचित्र विश्व

चिनियाँहरु यसकारण खाइरहेछन् साङ्लाको जुस

चिनियाँहरु यसकारण खाइरहेछन् साङ्लाको जुस

काठमाडौं । घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर चीनमा भने मानिसहरुका लागि यहीँ साङ्ला कमाइको माध्यम बनिरहेको छ ।

 

सम्भावित औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ ।

 


चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ । अब चाहीँ चीनमा साङ्लाको ठूलो परिमाणमा उत्पादन गरिँदैछ ।

 

चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ ।

 

साउथ चाइना मर्निङ पोस्टका अनुसार एक भवनमा साङ्ला पालन गरिएको छ । उक्त भवनको क्षेत्रफल झण्डै दुईवटा खेल मैदान जत्तिकै छ ।

 

दराजका पातला घर्राहरुमा साङ्ला पालन गरिन्छ । साङ्लाका लागि खाना तथा पानीको जोहो पनि गर्नुपर्दछ ।

 

साङ्लाका लागि अँध्यारो वातावरण र उचित आद्रता पनि उपलब्ध गराइएको हुन्छ र प्रजननका लागि पर्याप्त ठाउँ पनि रहेको हुन्छ । साङ्लाहरु घरबाहिर निस्कन पाउँदैनन् ।

 

यसरी पालन गरिएका साङ्लाहरु वयस्क भएसँगै संकलन गरी पिँधेर लेदो बनाइन्छ । यसरी सांग्लाको जुस तयार गरिन्छ र परम्परागत औषधिको रुपमा बिक्रि गरिन्छ ।

 

पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ ।

 

चिनियाँ विज्ञका अनुसार साङ्लाको जुस वास्तवमा चमत्कारी औषधिको रुपमा काम गर्दछ । यसले अनेक खालका रोग निको पार्दछ ।

 

चीनमा बुढापाकाहरुको जनसंख्या बढिरहेको छ र त्योसँगै मानिसमा स्वास्थ्य समस्या पनि बढ्दैछन् । यस्तोमा सस्तो तथा स्थानीय रुपमा उत्पादित औषधिको माग उच्च छ । सोही कारण साङ्लाको जुस निकै लोकपि्रय बनिरहेको छ ।

 

औषधिका लागि साङ्लाको पालन गर्ने काम सरकारी योजनाको एउटा हिस्सा पनि हो । सांग्लाको जुसको औषधिलाई अस्पतालहरुले पनि प्रयोगमा ल्याएका छन् ।

 

तर कतिपय विज्ञ चाहीँ साङ्लाको जुस मानिसका विभिन्न खाले रोगको उपचारमा रामवाण रहेको भन्नु सत्य नभएको बताउँछन् । उनीहरुका अनुसार बन्द ठाउँमा ठूलो परिमाणमा यसरी साङ्ला पाल्नु तथा साङ्लाको पैदावार बढाउनु खतरनाक पनि सावित हुनसक्छ ।


यदि मानिसको गल्ती वा भूकम्प लगायतका कारण अर्बौंको संख्यामा पालिएका साङ्लाहरु बाहिर खुल्ला वातावरणमा निस्किए भने त्यसले विनाशकारी असर पनि निम्त्याउन सक्दछ ।

– बीबीसी हिन्दीबाट

साङ्ला चिनियाँ

विशेष