News

पूर्वमन्त्री ढकाल बने मुगु जिल्लाका आठ बालबालिकाका अभिभाबक 

पूर्वमन्त्री ढकाल बने मुगु जिल्लाका आठ बालबालिकाका अभिभाबक 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मुगुका विपन्न परिवारका आठ बालबालिकाको अभिभाबकत्व ग्रहण गरेका छन् । सकारले घोषणा गरेको बालबालिका भर्न अभियान २०७५ मा सहभागी हुँदै पूर्वमन्त्री ढकालले ती बालबालिकालाई उपत्यकाकै एकता एकाडेमीमा भर्ना गराएका छन् । 

 

मानव विकास सूचकांकमा मुगुका बालबालिकाहरुको विद्यालय भर्ना हुने दर न्युन देखिएपछि अध्यक्ष ढकालले सोही जिल्लाका बालबालिकालाई विद्यालय भर्ना गराएका हुन् । ढकालको अभिभाबकत्वमा भर्ना हुने बालिबालिकाहरुमा कुशल बुढा, राजेन्द्र चन्द्रा, सुष्मा चन्द्रा, विवेक बुढा, सरिता चन्द्रा, सुमन बुढा, आकृति विक र सरोज विक रहेका छन् । भर्नाको हुने बेला पाँच बालबालिका मात्रै उपस्थित थिए । तर अध्यक्ष ढकालले आठ जनालाई नै भर्ना गरिदिए । 

भर्नापछि संक्षिप्त धारणा राख्दै उनले भने, ‘संविधानले शिक्षालाई मौलिक हकका रुपमा स्वीकार गरेको छ । तर अहिले पनि हजारौं बालिबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित छन् । शिक्षामा सबैको पहुँच स्थापित गर्न अझै धेरै गर्न बाँकी छ । ’

 

सो अवसरमा एकता एकाडेमीका प्राचार्य कृष्णप्रसाद ढकालले पूर्वमन्त्री ढकाललाई धन्यवाद दिँदै सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए । 


 

विशेष