उपराष्ट्रपतिकै हातबाट 'एनजीओ'को धर्म प्रचार!
दोलखा । विद्यालय उद्घाटन गर्न डाँकिएका उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी कार्यक्रममै आयोजकले उनैको हातबाट धर्म प्रचारका सामग्री वितरण गराएको छ।
जिल्लाको शैलुङ् गाउँपालिका ८ स्थित शैलुगेश्वरको भैंसेमा बिद्यालय भवन बनाएको ‘दयाका हातहरु’ नामक एउटा गैरसरकारी संस्थाले भवन उद्घाटन गर्न आमन्त्रण गरिएका उपराष्ट्रपतिकै हातबाट धर्म प्रचारका सामाग्री बालबालिकालाई वितरण गराएको हो।
नेपाली सेनाको हेलिकप्टरबाट आफ्नी श्रीमती, सुरक्षाकर्मी, माओवादीका एक स्थायी कमिटी सदस्य र एक टेलिभिजन प्रस्तोतासहित मंगलबार बिहान १२ बजे कार्यक्रमस्थल झरेलगतै उपराष्ट्रपति पुनले नवनिर्मित बिद्यालय भवनको उद्घाटन गरेका थिए।
सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले भूकम्पपछि भत्किएका निजी घर र शैक्षिक संस्थाहरुको छिटो निर्माण गर्न सरकारलाई आग्रह गर्ने बताए।
सम्बोधन सकिएलगत्तै मञ्चमा रहेका आयोजकहरुले खासखुस शुरु गर्न थाले र काठमाडौंबाट लगिएकी कार्यक्रम सञ्चालिकालाई माइक मागेर गैरसकारी संस्थाका प्रतिनिधि आफैंले उपहार बाड्ने कार्यक्रम भन्दै वडाभरीका बिद्यालयका बालबालिकालाई अगाडि डाक्न शुरु गरे।
उपराष्ट्रपतिका सुरक्षाकर्मीले तालिकाभित्र नरहेको कार्यक्रम किन बीचमा घुसाएको भनेर प्रश्न गरेपछि सामान्य शैक्षिक सामाग्री हो भनी जवाफ दिएलगतै प्रतिनिधिमुलक बालबालिकालाई उपराष्ट्रपति पुनले शैक्षिक सामग्री भन्दै प्याकेट बाड्न थाले।
उक्त प्याकेटहरु खोल्दा कापी कलमसँगै क्रिश्चियन धर्मका प्रचार सामग्रीहरु भेटियो। ‘क्रिश्मस र क्रिश्चियन धर्म सम्बन्धीका प्रचार सामग्री भेटिएपछि स्थानीयले गाउँपालिका प्रमुख दुलाललाई वितरण रोक्न माग गरे।
दुलालले गाउँपालिकाले रोक्ने आश्वासन दिए। एक बर्षअघि पनि शारदा माविमा संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारभित्र बाइबल र धर्म सम्बन्धि सामग्री राखेर वितरण गरिएको स्थानीयले बताए। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।
नन्दबहादुर पुन धर्म प्रचार