News देश

देशैभरि सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी चलाएनन्, यात्रुको बिजोग

'यातायात व्यवसायीकाे सरकारलाई चुनौती'

देशैभरि सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी चलाएनन्, यात्रुको बिजोग

 काठमाडाैं । सिण्डिकेटधारी यातायात व्यवसायीले गरेकाे यातायात बन्दका कारण शुक्रबार देशैभरी प्रभाव परेकाे छ ।  काठमाडौंसहित प्रदेश राजधानीमा पनि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।

 

विहानदेखि सबै ठाउँका सडक र बसपार्कसमेत सुनसान देखिएका छन् । गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । खासगरी कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थी र बिरामी बढी मारमा परेका छन् । सडक सुनसान हुँदा यात्रुको बिचल्ली भएको छ । 

यातायात व्यवसायीकाे सरकारलाई चुनौती

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

 

सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले  विहीबार सरकारसंँग वार्ता गरे पनि सहमतिमा पुग्न नसकेकाले आन्दोलनलाई निरन्तरता दिइने पश्चिम नेपालका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

 

सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निणर्चय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।

 

 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।

देशैभरि रुट फ्री


यता सरकारले सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार देशैभरि रुट फ्री गरेको छ । शुक्रबार जुनसुकै सडकमा सरकारले तोकेको भाडादर लिएर सवारीसाधान चलाउन सकिने छ ।

 

सरकारलाई सिन्डिकेटको विपक्षमा रहेका धेरै व्यवसायीले समेत साथ दिएका छन् । उनीहरुले विभिन्न रुटमा सवारिसाधान चलाउने जानकारी गराइसकेका छन् ।

बिहीबार कम्पनीमा दर्ता भई सवारिसाधान पञ्जिकरण गराएका यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको छलफलमा शुक्रबार ६ सय भन्दा बढी सवारिसाधान चलाउने सहमती भएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।

विशेष