News

शंकराचार्य नेपाल आउने भएपछि तरंग 

शंकराचार्य नेपाल आउने भएपछि तरंग 

काठमाडौं । भारत गोवर्द्धन  पुरीका पीठाधीश निश्चलानन्द सरस्वती नेपाल आउने भएपछि एकातिर धार्मिक पर्यटन प्रबर्द्धनमा लागेकाहरु खुसी भएका छन् । भने अर्कोतिर  धर्मनिरपेक्षता भएको मुलुकमा सरकारले धार्मिक क्रियाकलापमा धेरै ध्यान दिन हुँदैन भन्नेहरु सशंकित भएका छन् ।

 

 गोवर्द्धन पुरीका शंकराचार्य नेपालका धार्मिक केन्द्रहरुको दर्शनका लागि नेपाल आउने भएपछि यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सघाउ पुग्नेमा दुई मत छैन । जेठ १ गते नेपाल आउन  लागेका निश्चलान्द सरस्वती आफै त नेपाल आजसम्म नआएको बताइन्छ । उनको पदमा रहेका एक शंकराचार्यले भने ५०–६० वर्ष अगाडि एक पटक नेपाल आएको बताउने गरिन्छ । 

 

शंकराचार्यको स्वागतका लागि विभिन्न समितिहरु पनि गठन भएका छन् । यसको नेतृत्व भने विश्व हिन्दु महासंघले लिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह केही समय अगाडि भारत जाँदा यिनै शंकराचार्यसँग भेटेका थिए । त्यो अवसरमा पूर्वराजा शाहलाई शंकराचार्यले अभिनन्दन गरेका थिए । तर यसपटक नेपाल आउँदा पूर्वराजा र शंकराचार्यको भेट हुने नहुने खुलेको छैन । 

 

शंकराचार्यलाई काठमाडौंको टुँडीखेलमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ । नेपाललाई आश्चर्यजनक ढंगले धर्मनिरपेक्ष राष्ट्र बनाए पनि सरकारले भने हिन्दु सापेक्ष नै व्यवहार गर्दै आएको छ । यि शंकराचार्यलाई नेपालमा प्रधानमन्त्री कार्यालयदेखि पशुपति विकास कोषसम्मले निम्तो पठाएको बुझिएको छ । अर्थात वाम सरकार भए पनि हिन्दु धर्मको मामिलामा सरकार लचिलो भएको अनुमान गर्न सकिन्छ । 
 

विशेष