कपनका जनताले बोलाएपछि पुगे पूर्वयुवराज
काठमाडौं । काठमाडौं कपनका जनताको निम्तो मान्न पूर्वयुवराज पारस शाह शनिबार कपन पुगेका छन् । स्थानीय आविष्कार सिग्देलको नेतृत्वका जनताले पूर्वयुवराज शाहलाई कपन कृष्ण मन्दिर उद्घाटनको निम्तो दिएका थिए ।
मन्दिर उद्घाटनाका लागि कपन पुगेका पारसलाई स्थानीयवासीले फूलमालाले सम्मान गरे । पारसले मन्दिर उद्घाटनका साथै बंगलामुखी मन्दिरको दर्शन पनि गरेका थिए ।
शिव सेना नेपालको सुरक्षा र व्यवस्थापनमा पारस सो क्षेत्रमा पुग्दा पार्टीका अध्यक्ष अनिल बस्नेत ‘बाबा’, शिव सेनाको मजदुर संगठनका अध्यक्ष मनोज सापकोटा, बाहिनी प्रमुख चिरनप्रताव खड्कालगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सुरक्षाको जिम्मेवारी भने काठमाडौं जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य सिजन सापकोटा नेतृत्वको टोलीले लिएको थियो ।
‘वैदिक सनातन हिन्दु अधिराज्यका लागि राजसंस्थाको अपरिहार्याता’, ‘राजसंस्था र जनता भनेकै राष्ट्र हो’ भन्ने नाराबाट अभिप्रेरित कार्यक्रममा हजारौं जनताको सहभागीता थियो । ठाउँ ठाउँमा जनताहरु उभिएर पूर्वयुवराजको स्वागत गरेका थिए ।
यसअघि पारस बुद्ध पूर्णिमामा बौद्धनाथ स्तुपमा दीपप्रज्वलन गर्न पुगेका थिए । सो अवसरमा पनि बौद्धनाथका जनताले उनको भव्य स्वागत गरेका थिए ।
पूर्वयुवराज यसपटक आफ्नो पारिवारिक जमघटमा पनि सहभागी भए । पूर्वराजपरिवारमा पारससँग दूरी बढेको बताउने गरिन्छ । यद्यपि यसपटक दरबारमार्गस्थित एक रेष्टुरामा आयोजित जमघट कार्यक्रममा पारस–हीमानीबीच पनि भेट भएको थियो ।
उनले आफ्ना कान्छी छोरी र छोरासँग पनि समय बिताएका थिए । जेठी छोरी भने अध्ययनकालागि थाइल्याण्डमा छिन् ।