News मुख्य समाचार

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु

चार अध्यादेश पेश गर्ने तयारी

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु

काठमाडौं  । संघीय संसदको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको दोस्रो अधिवेशन शुरु हुन लागेको हो ।

 

अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक एकैसाथ सञ्चालन हुनेछ । बजेट अधिवेशन अन्तर्गत आइतबार बस्ने  दुवै सभाको पहिलो बैठकमा राष्ट्रपतिले जारी गरेका चार अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने तयारी रहेको छ ।

 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसद महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले दुई हप्ताअघि सिफारिस गरेकी थिइन् ।

 

आइतबारको यी अध्यादेश पेश गर्ने तयारी छ । यो अधिवेशनले अध्यादेशसँगै मुख्य गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल गर्नेछ ।

 

वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ ।

 

अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।

 

त्यसपछिका संसदको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने सन्दर्भ रहने छ । संविधानमा व्यवस्था भए अनुसार आउँदो जेठ १५ मा बजेट प्रस्तुत हुनेछ ।

संघीय संसद बजेट अधिवेशन

विशेष