News समाज प्रदेश १

उदयपुरमा भेटियाे मानव कंकाल

उदयपुरमा भेटियाे मानव कंकाल

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

 

सो कंकाल डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम्रे ६) का ८८ वर्षीय अहिमान तामाङको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार तामाङ २०७३ कात्तिक २२ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।

 

घटनासथलमा भेटिएको लुगा र चप्पलबाट कंकाल हराइरहेका तामाङको हुनसक्ने उनका आफन्तले बताएको प्रहरीले जनाएको छ । महिलाहरु घाँस काट्न जाँदा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक चन्द्र राजवंशीको टोली घटनास्थल पुगेर कंकालको सर्जमिन मुचल्का उठाएर फर्केको छ । इन्सपेक्टर राजवंशीका अनुसार छोरा पदमबहादुरले चप्पल, टोपी र लुगा आफ्नै बाबुको भएको दावी गरेका छन् ।

 

परिवारका सदस्यले आफन्त दाबी गरे पनि कानुनी प्रक्रिया पूरा गर्न डीएनए परीक्षणका लागि कंकालको टुक्रा विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

मानव कंकाल उदयपुरगढी गाउँपालिका

विशेष