News मुख्य समाचार ताजा खबर

मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री पण्डित

मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्।

 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई पूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक तयारी गरिसकेको बताएका हुन्।

 

उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउनको लागि सरकार, यहाँका वैधानिक राजनीतिक दलहरु, सामाजिक संघ संस्थाहरु सक्रिय भएर लागिपरिरहेका छन्, अहिले हामी उनको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौं, वास्तवमै भन्ने हो भने एक हिसावले तीव्र रफ्तारमा काम भैरहेको छ।’

 

मोदीलाई जनकपुर विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्रीले स्वागत गर्ने उनले जनाए । त्यस्तै जनकपुरको जानकी मन्दिरमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा पूजा गर्ने कार्यक्रम रहेको पनि मन्त्री पण्डितले बताए।

 

भ्रमणको दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरु हुने पनि उनले जनाए । त्यस्तै उनले मोदीसँग राजनीतिक भेटघाटहरु पनि हुने बताए। नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण जसरी सफल भएको थियो, ठिक त्यसैगरि मोदीको नेपाल भ्रमणलाई पनि सफल बनाउन आफूहरु लागि परिरहेको उनको विश्वास थियो।

 


मोदीको भ्रमणपछि नेपाल–भारत सम्बन्ध उच्च स्तरमा पुग्ने बताउँदै पण्डितले भने,‘सकारात्मक भविष्यको लागि सकारात्मक कुराहरु हुन्छन्, विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा हामी जोड दिन्छौं।’भ्रमणको दौरान नेपाल र भारतबीच रहेको १९५० को सन्धि र सिमा विवादबारे पनि छलफल हुन सक्ने पण्डितले जनाए।

 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र राम्रो बनाउन आफ्नो पार्टी लागिपरिरहेको बताएका छन्।

 

उनले भने,‘मोदी नेपाल आउने कुरा ज्यादै खुशीको कुरा हो, भ्रमण हुनु एकदमै राम्रो कुरा हो, यसले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै गाढा हुनेछ, भारत र नेपालबीच ज्यादै राम्रो सम्बन्ध छ, सबै हिसावले हामीबीच घनिष्ठ सम्बन्ध छ।’

लालबाबु पण्डित नरेन्द्र मोदी

विशेष