News मुख्य समाचार

हामीलार्इ अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि छैन : प्रधानमन्त्री अाेली

हामीलार्इ अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि छैन : प्रधानमन्त्री अाेली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी बन्ने रुचि नभएको बताएका छन्। आफू नेतृत्वको सरकार आउँदो तीन वर्षभित्र अति कम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्रीले देशको विकास र समृद्धिका लागि सबै छिमेकी राष्ट्रहरूको सहयोग र साथ हासिल गरिने बताए। 

 

अन्तरसंसद युनियन (आइपियु)को बेलायती समूहको प्रतिनिधिमण्डलसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएकाहुन्।  विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै प्रधानमन्त्री ओलीले चीनको वान वेल्ट वान रोड (ओविओआर)को योजना र भारतको साथमा सबैको विकास गरिने नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गरे। 

 

अढाई दशकदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्समा प्रतिनिधित्व गरिरहेका निगेल इभान्सको नेतृत्वमा आएको बेलायती सांसदहरूको प्रतिनिधि मण्डलमा डेभिड मोरिस, वीरेन्द्र शर्मा, केरी म्याकार्थी र माथिल्लो सदनका लर्ड बाल्फ सहभागी थिए। 

 

उक्त टोलीले द्वन्द्वकालीन घटनाहरूका सम्बन्धमा राखिएको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानुन, त्यसबेलाका घटनाहरूको सत्य तथ्य छानविन गर्न बनाइएको आयोग र बेपत्ता पारिएकाहरूको छानविन गर्न बनाइएको आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाए। 

 

द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भए पनि मानवअधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघन गर्नेहरूलाई क्षमादान नदिइने उनले प्रष्ट पारे। नेपाल र बेलायतको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बेलायतको लोकतन्त्र र संसदबाट नेपालले धेरै सिकेको बताए। 

 

नेपाल भाषिक र साँस्कृतिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएकाले कुनै पनि धर्म, संस्कृति अँगाल्नेहरूप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको ओलीले बताए। 

 

संविधानका ३१ वटा धारामा मौलिक हकहरूको व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायहरूमा ४१ प्रतिशत महिलाहरूको प्रतिनिधित्व रहेको उल्लेख गरे। 

 

निर्वाचित निकायहरूमा महिला सहभागितामा उल्लेखनीय ढंगले वृद्धि भएका कारण राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको सहभागिता र सामाजिकीकरणको प्रक्रियामा अभिवृद्धि भएको प्रधानमन्त्रीको भनाइ थियो। 
 

प्रधानमन्त्री अाेली आइपियु

विशेष