News मुख्य समाचार ताजा खबर राजनीति

अनेरास्ववियुको नयाँ नेतृत्व चुनिदैँ, को बन्ला अखिलको अध्यक्ष ?

अनेरास्ववियुको नयाँ नेतृत्व चुनिदैँ, को बन्ला अखिलको अध्यक्ष ?

 

एमाले सम्बद्ध अनेरास्ववियुमा नयाँ नेतृत्व चयन हुने भएको  छ । अध्यक्ष नविना लामा प्रतिनिधि सभामा सदस्य निर्वाचित भएपछि उनले अध्यक्षबाट राजीनामा दिन चाहेकी छिन् । यसैविचमा नयाँ नेतृत्व चयनको लागि जेठको पहिलो साता केन्द्रिय कमिटीले बैठक आह्वान गरेको छ । 

 

पार्टी एकीकरणपूर्व कुनै पनि जनसंगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ नेतृत्वको लागि नयाँ अध्यक्षका प्रत्याशिले लबिङ बढाएका छन् । तर प्रतिस्पर्धीहरु धेरै भएकाले केन्द्रीय कमिटीको बहुमतबाट नयाँ अध्यक्ष चयन हुने अनेरास्ववियूका नेताहरुले बताएका छन् । यसअघि युवा संघको नयाँ नेतृत्व पनि केन्द्रीय कमिटीबाटै चयन भएको थियो ।

 

अनेरास्ववियूको स्थायी कमिटीको मंगलवार साँझ बसेको बैठकले जेठ ४ र ५ गते केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरेको महासचिव ऐन महरले विज्ञप्तिमार्फत जनाएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा आयोजना हुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने महरले बताए ।

 

अध्यक्ष नवीना लामाको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा विद्यार्थी इञ्चार्ज तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विद्यार्थी नेताहरुलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् । उनले पार्टी एकीकरणसँगै जनसंगठन पनि एकीकरण हुने भएकाले अनेरास्ववियूको गर्बिलो इतिहास जोगाउने गरी अघि बढ्न निर्देशन दिए ।

 

केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचनबाट अध्यक्ष चयन गरिने स्रोतले जनाएको छ । अध्यक्ष नवीना लामाले केन्द्रीय कमिटीमै आफ्नो राजीनामा पेश गर्ने सम्भावना छ । अध्यक्षका लागि महासचिव ऐन महरलाई संस्थापन पक्षले अघि सारेको स्रोतले जनाएको छ ।

 

यसअघि महाधिवेशनमा महर अध्यक्षको दाबेदार थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नवीनालाई सघाउन आग्रह गर्दै उनीपछि ऐनलाई अध्यक्ष बनाउने आश्वासन दिएका थिए । यसबीचमा विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारीले पार्टी अध्यक्ष ओलीसँग छलफल समेत गरेका छन् ।

 

नवीनाले राजीनामा दिएको खण्डमा अध्यक्षका लागि चारैजना उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल र शैलेस लामा पनि अध्यक्षको दाबेदारका रुपमा देखिएका छन् । उनीहरु सबै पार्टी्भित्र संस्थापन पक्षकै हुन् ।

 

ऐन महर अध्यक्ष भएमा रिक्त हुने महासचिवका लागि सचिवहरु समिक बडाल, सुदेश पराजुली, आरसी शर्मा र आरती लामा दाबेदार छन् । पराजुली र लामा पार्टी्भित्र माधव नेपाल पक्षका हुन् भने बडाल र शर्मा संस्थापन पक्षका हुन् ।

 

अध्यक्ष संस्थापन पक्षले पाएपछि महासचिव आफूहरुले पाउनुपर्ने सुदेश पराजुली र आरती लामाको दाबी छ । अनेरास्ववियूको १४६ सदस्यीय केन्द्रीय कमिटीमा ऐन महरको पक्षमा ८५ सदस्य छन् ।
 

अनेरास्ववियु नवीना लामा ऐन महर रवीन्द्र अधिकारी

विशेष