News देश

बन्दरगाहमा १७५० बढी कन्टेनर थन्किए

बन्दरगाहमा १७५० बढी कन्टेनर थन्किए

पर्सा । तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने  समस्या बढदो छ ।

 

तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन्ज र कोलकातामा ठूलो परिमाणमा थन्किएका हुन् ।

 

सोमबार वीरगन्ज आउने ९ सय ७० मालवाहक कन्टेनर कोलकाता बन्दरगाहमा अडकिएर बसेका छन् । यसबाहेक कोलकाताकै माजरहार्ट टर्मिनलमा पनि ६० मालवाहक कन्टेनर रहेका छन् ।

 

सोमबार वीरगन्ज सुक्खा बन्दरगाहमा ५ सय ५४ मालवाहक र २ सय ४ खाली कन्टेनर थन्किएका छन् । हाल बन्दरगाहको यार्ड मालवाहक र खाली कन्टेनरले भरिएका छन् । यसबाहेक कोलकाता तथा विशाखापट्टनम बन्दरगाहबाट वीरगन्जका लागि हिँडेका ११ कन्टेनरवाहक रेलवे र्‍याक बाटोमै रहेका छन् । थप २ वटा बोरा बन्द कार्गो बोकेका बीसीएन र ४ वटा फलाम बोकेका बीआरएन र्‍याक पनि बाटोमै छन् ।

 

सोमबार सुक्खा बन्दरगाहमा ६ हजार ७ सय १३ मेट्रिक टन बीसीएन कार्गो थन्किएका छन् भने १३ हजार ८ सय ४८ मेटन फलाम पनि भण्डारणमा रहेको छ ।

 

बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरी भारतबाट नियमित मालवाहक रेल आउने क्रम नघटे पनि नेपाली आयातकर्ताले समयमा कन्टेनर खाली गरी फिर्ता नगर्ने प्रवृत्ति पछिल्लो समय झनै बढदै गएकाले कन्टेनर ढुवानीको तालमेल बिग्रिएर पनि यो समस्या बढेको हुन सक्ने बताउँछन् । यसकारण मे महिनामा ३ पटक रेलवे र्‍याक खाली नै कोलकाता पठाउनुपरेको उनले बताए ।

 

विशेष गरी नेपालका ठूला आयातकर्ताले समयमा आफ्नो कन्टेनर नलग्ने गरेकाले यो समस्या भएको उनले बताए । ठूला आयातकर्ताको गैर जिम्मेवारीको कारण साना आयातकर्तालाई पनि समस्या हुने गरेको छ । उनीहरूको कन्टेनर ठूला आयातकर्ताको कन्टेनरले थिचिदिने भएकाले सानालाई अनावश्यक जरिवाना र शुल्कको भार पर्न जान्छ । कान्तिपुर दैनिकबाट ।

वीरगन्ज सुक्खा बन्दरगाह आयात–निर्यात कन्टेनर

विशेष