लागु औषध र भरुवा बन्दुकसहित तीनजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतवार लागु औषध र भरुवा बन्दुक सहित तीनजनालाई पक्राउ गरेको छ ।प्रहरीले पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ बाट सन्त जिम्बालाई पक्राउ गरेको हो ।
प्रहरीले जिम्बाको घरबाट एक थान भरुवा बन्दुक तथा २९ किलो गाँजा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताए ।
प्रहरीले आइतवारैै विशेष सूचनाको आधारमा हेटौंडा–१० बसपार्कमा वीरगञ्जबाट काठमाडाैंतर्फ जाँदै गरेको ना १ ज ७३११ नम्बरको सुमोेमा जाँच गरेको थियो ।
सुमोमा रहेका नुवाकोट बखगाउँ गाउपालिकाका ३९वर्षीय अर्जुन बहादुर प्याकुरेल र रामेछाप रसनालु गाउँपालिकाका २७ वर्षीय उमेस खत्रीको साथबाट प्लास्टिकले बेरी लुकाएर ल्याएको लागु औषध फेनार्गन ८८ एम्पुल, नोरफिन ८७ एम्पुल र डाईजोपाम ८९ एम्पुल गरी जम्मा २६४ एम्पुल सहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।