पत्रकारलाई ‘आफ्नै खेतको मुला’ ठान्दा मन्त्री भए आलोचित (भिडियोसहित)
काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनका पत्रकारलाई ‘आफ्नै खेतको मुला’ जस्तै ठान्दा उनी आलोचित भएका छन् ।
नेपाल टेलिभिजनमा १२ वर्षदेखि ‘टक सो’ चलाईरहेका पत्रकार राजु थापालाई सञ्चारमन्त्री बास्कोटाले दिएको अन्तर्वार्ता अहिले चर्चामा छ । कार्यक्रम सिधा प्रश्नमा मन्त्री बास्कोटाको जवाफ चाहिँ आलोचित भएको छ । प्रश्नको जवाफ दिने मन्त्री बास्कोटाको शैली हेर्दा उनी अहंकार भरिएको बाल्टिन जस्ता लाग्छन् ।
कार्यक्रममा पत्रकार थापा र मन्त्री बास्कोटाको सवाल जवाफ यस्तो छः
थापाः मन्त्रीहरुले दाइजो लिएको सम्पत्ति विवरणमा लेखेका छन्, यो विवरण आलोचित भइरहेको छ नी ?
मन्त्री बास्कोटाः यो नेपाली समाज हो । कम्युनिष्ट भए पनि यज्ञ घुमेरै बिहे गरेको हुन्छ ।
थापाः सुन्दा अलि अप्ठेरो लाग्ने भएन र ?
मन्त्री बास्कोटाः यो आफ्नो निजी मामिला हो । कसले कसको नाममा राख्यो भन्ने । मुख्य कुरा सम्पत्ति विवरण देखायो कि देखाएन त्यो महत्वपूर्ण कुरा हो ।
थापाः तर, कसले कसको नाममा राखेको छ भन्ने पनि त जनचासोको विषय बन्छ, हैन र ?
मन्त्री बास्कोटाः हैन कम्युनिष्ट हुँदा चाहिँ के हुनुपर्ने बताइदिनु त मलाई ?
थापाः तपाईहरु त दाइजोविरोधी ठान्नु हुन्छ आफूलाई ।
मन्त्री बास्कोटाः दाइजो भनेर कसले राखेको छ ?
थापाः दाइजो नभने पनि विवाहमा आएको भनेर तपाईले नै भन्नु भएको छ ।
मन्त्री बास्कोटाः कति राखेको छु ?
थापाः १७ तोला सुन, ६० तोला चाँदी ।
मन्त्री बास्कोटाः हो, तर श्रीमतीसँग विवाह हुँदा आएको भनेर राखेको छैन ।
थापाः माइतीबाट श्रीमतीले ल्याएको भन्नु भएको छ ।
मन्त्री बास्कोटाः हैन, तपाई झुठ बोल्दै हुनुहुन्छ । मसित झुठ बोल्नु पर्दैन ।
यति कुराकानी भएपछि पत्रकार थापाले मन्त्री बास्कोटाको सम्पत्ति विवरण नै देखाइदिन्छन् । दाइजोप्रेमी तर भन्न नरुचाउने मन्त्री बास्कोटा एक पछि अर्को झुठ बोल्दै जान्छन् । झुठ आफैले बोल्छन् तर आरोप पत्रकारलाई लगाउँछन् । किन झुठ बोलेको ? भनेर सोध्दा कुतर्क पेश गर्छन् । विषयको गम्भीरता पटक्कै नदेखिने र बसाइ, बोल्ने शैली हेर्दा उनमा शालिनता वा बौद्धिकता भन्दा लठैतपन हावी भएको प्रतित हुन्छ ।