News अपराध सुरक्षा

साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

अकुत सम्पत्ति छानबिनमा अख्तियार उदासीन

साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

काठमाडाैं । त्यसै ओरालो लागेको साझा प्रकाशनमा अध्यक्ष एवं महाप्रबन्धक बनेर डोलिन्द्रप्रसाद शर्मा आएपछि साझा झनै ओरालो लागेको छ । ऋण र घाटाका कारण डुब्दै गएको साझालाई उकास्न भनेर महाप्रबन्धक शर्माले सरकारसँग २० करोड ऋण र १० करोड अनुदान लिएका थिए । त्यसले साझा केही मात्रामा भएपनि उक्सिने स्रष्टाले आसा गरेका थिए ।

 

तर, शर्माको कार्यशैलीका कारण साझा ओरालो लाग्नबाट रोकिन नसकेको साझाकै एक उच्च अधिकारी बताउँछन्। महाप्रबन्धक शर्माले आफूलाई असर पर्ने निर्णयहरू सञ्चालक समितिको बैठक बस्दा माइन्युटमा नलेख्ने, सञ्चालक समितिमा निर्णय नगरी सबै काम गर्ने र पछि मात्रै बोर्डको बैठकमा ल्याउने,कर्मचारी नियुक्तिका लागि बोर्डको निर्णयविपरीत विज्ञापन गर्नेजस्ता कार्य गरेपछि सञ्चालक समेत उनको कार्यशैलीप्रति असन्तुष्ट भएको यसअघि नै खुलासा भइसकेको छ ।


‘सबैको नेपाली’ लगायतका पाठ्यपुस्तक बेहिसाब रूपमा छापेको र छापिएका पुस्तकको सही संख्यामा साझामा दाखिल नगर्नुका साथै देशैभरि आफैँले आफ्नो व्यक्तिगत संस्थामार्फत बिक्रीवितरण गर्दै आएको उनीमाथि आरोप लागिरहेको छ । उनले हृदयचन्द्रसिंह प्रधानको बहुचर्चित कृति ‘एक चिहान’ छाप्दा पनि साझाको सञ्चालक समितिलाई गलत सूचना दिएर फाइदा उठाएको स्रोतले बताएको छ ।

साझा प्रकाशन (सहकारी संस्था लिमिटेड) समस्या समाधान तथा सुदृढीकरण सुझाव उच्चस्तरीय कार्यदल (२०७० ले सरकारसमक्ष पेस गरेको प्रतिवेदन आफ्नो प्रतिकूल हुने भएकाले अध्यक्ष डोलेन्द्रले उक्त प्रतिवेदन कार्यान्वयनमा त्यतिबेला चासो नदेखाएको अधिकारीहरूको भनाइ छ । कर्मचारीलाई नोकरको जस्तै व्यवहार गरिरहेको कर्मचारीहरूले दुःखेसो पोख्दै आएका छन् ।

 

आफूले साझाको अध्यक्ष र महाप्रबन्धक सम्हालेपछि गरेका सुधारका कामहरूबारे बोर्डमा कुनै जानकारी नगराउने तर, प्रचारमा भने व्यापक रूपमा जोड दिने उनको नियति रहेको पनि बताइएको छ । आवश्यक पर्ने कागजहरू आफ्नो निजी संस्थाबाट खरिद गर्ने गरेको, प्रेस मेसिन आफ्नो प्रकाशन संस्थाबाट लगेर साझामा जडान गर्दा साझा झन् ओरालो लागेको उनीमाथि अर्को आरोप छ । 

 

कर्मचारीको हितविपरीतको गतिविधिमा सञ्चालक समिति लागिपरेको भन्दै साझा प्रकाशनका कर्मचारीहरूले उनको खुलेरै यसअघि विरोध गरेका छन् । कर्मचारीहरूले खराब नियत भएका सञ्चालक समितिका पदाधिकारीहरूको कारण साझा धराशायी भएको भएको भन्दै त्यसविरुद्ध पुल्चोकस्थित कार्यालयमा धर्नासमेत दिएका थिए ।

 

कर्मचारीहरूको तलब सुविधा समयमा दिइनुपर्ने, संस्था सञ्चालन पारदर्शी हुनुपर्ने, हालै ल्याइएको कर्मचारीविरोधी नियमावलीको खारेज गरिनुपर्ने लगायत माग कर्मचारीहरूको थियो । कर्मचारीहरूले साझालाई धराशायी बनाउन महाप्रबन्धक शर्मा नै लागिपरेको तथा सञ्चालक समितिका सदस्यहरू दीनानाथ शर्मा र हरिहर खनाल पनि डोलेन्द्रकै पक्षमा लागिपरेको पनि आरोप छ । कर्मचारीहरूका अनुसार डोलेन्द्रको आफ्नै नीजि पब्लिकेसनसमेत नियमविपरीत रहेको छ ।

साझाको पद धारण गरेका व्यक्तिले बाहिर नीजि पब्लिकेसन खोल्न नपाउने भएपनि उनले श्रीमतीको नाममा अक्सफोर्ड पब्लिकेसन दर्ता गरेर सञ्चालन गर्दै आइरहेका छन् ।  उनले साझा प्रकाशनकै आडमा आफनो पब्लिकेसनबाट अवैध रूपमा किताब छापेर बजारमा मनोमानी तरिकाले बिक्री गर्ने गरेको खुल्न आएको छ । 


कर तिर्दैनन् डोलेन्द्र 


साझाका अध्यक्षसमेत भइसकेका अक्सफोर्ड पब्लिकेसनका सञ्चालक डोलेन्द्र शर्माले आफ्नो सबै व्यापार व्यवसायको करसमेत नतिर्ने गरेको पाइएको छ । हरेक व्यक्तिले गरेको आयआर्जनबाट सरकारलाई सरकारी नियमानुसार कर तिर्नुपर्ने प्रावधान र नियम छ । तर, शर्माले सरकारी नीतिनियमको समेत ठाडै उल्लंघन गर्दै आइरहेका छन् । 


उनले प्रकाशन गर्ने गरेका किताब, गाइड, गेसपेपर र आफ्नो प्रेसबाट हुने अन्य कारोबारमा उनले राज्यलाई नियमित कर नतिरेको आरोप लागेको छ । गैरकानुनी रूपमा कमाएको अवैध अकुत सम्पत्ति छानबिनका लागि यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेपनि राजनीतिक दबाबका कारण अख्तियारले समेत गतिलो छानबिन र अनुसन्धान गर्न नसकेको स्रोत बताउँछ । 


बिक्रेताबाटै  कमिसन 


अक्सफोर्ड पब्लिकेसनका सञ्चालक डोलेन्द्र शर्माले साझालाई सामान बिक्री गर्ने बिक्रेताहरूबाटै कमिसन लिने गरेको खुलेको छ । उनको पब्लिकेसनमा छापिएका किताब तथा अन्य सामग्री साझालाई बिक्री गर्ने बिक्रेताबाट समेत उनले गतिलै रकम कमिसन लिने गरेको भेटिएको छ ।

 

स्रोतका अनुसार उनले यस्ता बिक्रेताबाट २० देखि २५ प्रतिशतसम्म कमिसन लिएर किताब साझालाई दिने गरेका छन् ।  तर, साझा प्रकाशन सञ्चालक समिति र सरकार उनको यस्तो हर्कत रोक्न उदासीन देखिएको छ । 


कहाँबाट आयो यत्तिको सम्पत्ति 


डोलेन्द्र शर्माको सम्पत्ति विवरण  अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन । नेपाल आजलाई प्राप्त विवरणअनुसार उनीसँग राजधानीको अनामनगरमा ५ आनामा बनेको ५ तले घर छ  । यस्तै काठमाडाैंमै १६ आनामा बनेको अत्याधुनिक एउटा बंगला छ । उनी अहिले पनि सुजिकी स्विफ्ट गाडी (मूल्य करिब ३० लाख पर्ने) प्रयोग गर्दै आएका छन् ।

 
उनी नियमविपरीत रहेको भनिएको अक्सफोर्ड पब्लिकेसनका मालिक र अक्सफोर्ड पुस्तक पसलका सञ्चालक हुन् । यति सम्पति त उनको देखिएको मात्रै हो । उनीसँगै गैरकानुनी रूपमा आर्जन गरेको करोडौंको सम्पत्तिको बारेमा त कुनै लेखाजोखा नै नभएको उनी निकट स्रोतको भनाइ छ । 


उनले पुख्र्याैली सम्पत्ति भएको भन्दै बेलाबखतमा अवैध रूपमा कमाएको सम्पत्तिबाटै दान तथा सहयोग गर्ने गरेको पनि खुलासा भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अकुत सम्पत्ति छानबिनलाई कडाका साथ अघि बढाएको दाबी गरिरहँदा डोलेन्द्र जस्ता अकुत सम्पत्तिका मालिकहरूमाथिको अनुसन्धानमा अख्तियारसमेत सफल भएको छैन । उनको अख्तियार र राजनीतिक उच्च व्यक्तिहरूसँग गतिलै उठबस भएकाले अवैध उनको सम्पत्ति अहिलेसम्म छानबिनको दायरामा आउन नसकेको बताइएको छ । 


कहाँ छ डोलेन्द्रको सम्बन्ध 


डोलेन्द्र शर्माको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग गतिलो सम्बन्ध भएको प्रष्टै देखिएको छ । किनकि उनको अकुत अवैध सम्पत्तिमाथि अख्तियारले अहिलेपनि अनुसन्धान र छानबनि अघि नबढाउनु नै उनी र अख्तियारबीचको गतिलै सम्बन्धको प्रमाण हो ।  


यति मात्रै होइन, कांग्रेस नेत्री चित्रलेखा यादवको सहयोगमा  शंकर भण्डारी, अर्जुननरसिंह केसीदेखि सभापति शेरबहादुर देउवासँग डोलेन्द्रको राम्रै सम्बन्ध र उठबस रहेको पाइएको छ । डोलेन्द्र चतुर खेलाडीका रूपमा देखिएका छन् । उनले कांग्रेस सभापति देउवालगायतसँग मात्रै होइन तत्कालीन एमाले र माओवादी अहिलेको नेकपाका नेताहरूसँग पनि उत्तिकै सम्बन्ध बनाएको खुलेको छ । 


डोलेन्द्र र नेकपाका प्रभावशाली नेताहरू अग्नि खरेल, प्रदीप नेपाल, दीनानाथ शर्माबीच पनि कांग्रेस सभापति देउवा,  नेता केसी र भण्डारीबराबरकै सम्बन्ध रहेको पाइएको छ । यसले पनि उनले साझामा हालीमुहाली मात्र गरेनन् आफैँ पब्लिकेसनमा समेत अवैध रूपमा काम गर्दे करोडौंको गैरकानुनी सम्पत्ति आर्जन गर्न सफल भएका छन् । यता अवैध सम्पत्ति आर्जनलगायत विषयमा लागिरहेका आरोपबारे बुझ्न खोज्दा डोलेन्द्र शर्मासँग टेलिफोन सम्पर्क हुन सकेन् ।


र याे पनि,

‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’

साझा प्रकाशन अख्तियार डोलिन्द्रप्रसाद शर्मा अकुत सम्पत्ति उदासीन दिनानाथ शर्मा चित्रलेखा यादब प्रदीप नेपाल

विशेष