निर्मल भट्टराईको गुनासोः केपी र प्रचण्डले आश्वासन मात्र दिन्छन् पूरा गर्दैनन्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो मधुमास पूरा गरेको छ । यसबीचमा ओली सरकारले गरेका कामको आलोचना र बचाउ दुबै भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सय दिनमा दर्जन बढी विसंगति गरेको आरोप लगायो ।
सरकार भने सय दिनमा ९० प्रतिशत काम गर्न सफल भएको दाबी गरेको छ । तर, ओली सरकार मधुमास अवधिमा गर्नुपर्ने आधारभूत कामभन्दा पनि कुरामा बढी रमाएको बौद्धिक वर्गको विश्लेषण छ । कम्युनिस्ट नेतृत्वको शक्तिशाली सरकारलाई स्थानीय तहदेखि केन्द्रसम्म काम गर्न रोक्ने र छेक्ने कुनै तत्व छैन । तर, यो बीचमा पनि सरकारले सोचेअनुरूपमा काम गर्न नसकेको जन गुनासो गुञ्जिन थालिसकेको छ ।
सरकारको काम कारबाही र नवगठित नेकपाबारे नेपाल आजले नेकपाका नेता निर्मल भट्टाराईसँग अन्तर्वार्ता गरेको छ । नेता भट्टाराईले अन्तर्वार्ताका क्रममा नेकपाको एकल बहुमतको सरकार रहेको भन्दै अबको ५ वर्ष सरकार परिवर्तनको खेल समाप्त भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले सपना मात्र बाँड्ने गरेको भन्दै आलोचना भइरहेको भन्नेबारे उनले भने,‘कल्पना नै आविष्कारको जननी हो भनिन्छ । अहिले कल्पना सस्तो लागे पनि असम्भव कुरा होइन्, यसलाई सकारात्मक तरिकाले बुझ्नु पर्छ ।’
तर, भट्टाराईले नेताहरूमा काम हुनु भन्दै अघिनै बोल्ने खराब बानी रहेको स्वीकार गरे । सरकारले आगामी ५ वर्षमा आफूले भनेको ५० प्रतिशत काम गर्न सकेको खण्डमा देशले विकासको गति लिने उनको बुझाइ छ ।
सम्पूर्ण जनप्रतिनिधिलाई रमाइलोको लागि सडकमा झाडू लगाउन जानुभन्दा बनेका नीतिनियमको निर्मतापूर्वक कार्यान्वयन गरेर समस्याको समाधान गर्न तिर लाग्न उनले सुझाव पनि दिए ।‘नेतृत्वले कर्मचारीलाई सही किसिमले कमान्ड गर्नुपर्छ । र, कर्मचारीले सरकारका नीति नियमलाई अवलम्बन गर्नपर्छ । यसो भएन भने प्रधानमन्त्रीको समृद्धिको सपना सपनामै समाप्त हुन्छ । यसमा सरकार चुक्नु हुँदैन’, भट्टराईले भने ।
नेकपामा तत्कालीन एमालेका पूर्वअध्यक्ष झलनाथ खनालको बरीयतामा देखिएको विवादबारे उनले जनताबाट नै नेताहरूको बरीयता तोकिने भन्दै यसलाई सहज रूपमा लिनुपर्ने बताए । भट्टराईले भने, ‘पार्टीमा नियम कानुन बनाइन्छ । तर, कार्यान्वयन नहुँदा यो गलत हो । यस्तो पनि बढी प्रमुख नेताहरूबाट हुन्छ । यसले मलाई साह्र्रै दुःखी बनाउँछ ।’
‘प्रचण्ड, ओली र बाबुराम भट्टराईले मलाई आश्वासन मात्र दिएको तर, कसैले पनि पूरा नगरेको उनले गुनासो गरे । मलाई बारम्बार आश्वासन दिएर पूरा नगरेका उनीहरूले जनतालाई दिएका आश्वासन पूरा गर्छन् भनेर कसरी विश्वास गर्नु’, भट्टराईले भने ।