News भिडियो समाज देश राजनीति

ज्योतिर्विद डा. कायस्थकाे भविष्यवाणीः प्रचण्डको राष्ट्रपतीय प्रणाली अभियान लागू हुन सक्छ (भिडियाेसहित)

ज्योतिर्विद डा. कायस्थकाे भविष्यवाणीः प्रचण्डको राष्ट्रपतीय प्रणाली अभियान लागू हुन सक्छ (भिडियाेसहित)

काठमाडौं । ज्योतिर्विद डा. वीरेन्द्र कायस्थले पूर्वीय ज्योतिष शास्त्र र आधुनिक विज्ञानअन्तर्गतको खगोल शास्त्रबीच खासै भिन्नता नभएको बताएका छन् । 

 


नेपाल आजसँगको कुराकानीमा डा. कायस्थले पूर्वीय ज्योतिष शास्त्रले राखेको मान्यताअनकूल काल गणनाको सिद्धान्तलाई पनि पश्चिमा खगोल शास्त्रीहरूले मान्ने गरेको पनि उल्लेख गरे । 

 


उनले ज्योतिषहरूले मान्छेहरूका फलादेश गर्दा सिद्धान्ततः ग्रहदशाको यथार्थता एवं सत्यतामा आधारित हुनुपर्ने बताउँदै भने, ‘अन्तरिक्ष विज्ञान र पूर्वीय ज्योतिष शास्त्रबीच सूर्योदय, सूर्यास्त र ग्रहणसम्बन्धी समय मापनको एउटै आधार रहेको छ ।’


डा. कायस्थले पूर्वीय ज्योतिष शास्त्रले सदियौं अगाडि भनेका कुराहरू आधुनिक खगोल शास्त्रीहरूले भर्खरै अनुसन्धान र परीक्षण गर्न थालेको जानकारी दिँदै उनले नवग्रहको गति र चालको पृथ्वीका प्राणीहरूमा त्यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव अवश्य पनि पर्ने दाबी गरे । 

 


उनले नवग्रहकै कारण मान्छेहरूको उन्नति र अवनतिमा प्रभाव पर्दै आएको र ज्योतिषले ग्रहहरूको चाल र गतिलाई मूल्यांकन गरेर व्यक्ति, व्यक्तिलाई सावधान र समस्या मुक्तिका उपायहरू सुझाउने गर्दै आएको बताए । 


डा. कायस्थले नवग्रहको चालअनुसार नै आफूले देशको राजनीतिक भविष्यप्रति लक्ष्य गरेर गरेका भविष्यवाणी मिल्न आएको दाबी गर्दै उनले ज्योतिषसम्बन्धी फलादेशलाई विश्वसनीय बनाउन ज्योतिषहरूले वैज्ञानिक आधारलाई प्रस्तुत गर्दै धन कमाउने साधनका रूपमा प्रयोग गर्न नहुने सल्लाह दिए । 

 


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हाल नेपालमा राष्ट्रपतीय शासन प्रणालीमा गएर शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने भनी चलाएको अभियान ज्योतिषीय हिसाबले सफल र असफल के होला भन्ने प्रश्नको उत्तरमा डा. कायस्थले दाहालको अभियानका सम्बन्धमा भन्दा पनि मुलुकमा निकट भविष्यमा राजनीतिक परिवर्तनका लक्षणहरू देखापरेको र ती परिवर्तनका लक्षणहरू देश र जनताका लागि सकारात्मक भएको बताए ।

 


उनले पूर्वीय ज्योतिष दर्शनलाई समयानुकूल बनाउन ज्योतिषीय विज्ञानका नयाँ आयाम थपिँदै जानुपर्ने पनि उल्लेख गरे ।

डा. वीरेन्द्र कायस्थ ज्योतिष शास्त्र ज्योतिर्विद

विशेष