विदेश मुख्य समाचार

ट्रम्प-किम वार्ता आज, नेपाललाई के प्रभाव पार्ला ?

ट्रम्प-किम वार्ता आज, नेपाललाई के प्रभाव पार्ला ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनबीच मंगलबार ऐतिहासिक वार्ता हुँदैछ । यो वार्तापूर्व कोरियाली प्रायद्विपलाई निःशस्त्रीकरण गर्न केही प्रयास गरिएका थिए ।


सन् १९५० मा सुरु कोरियाली युद्ध सन् १९५३ मा ३८ प्यारालल लाइनको घोषणा गरी युद्धविराम भएको थियो । ३८ प्यारालल लाइनलाई तत्कालीन सोभियत संघ समर्थित उत्तर कोरिया र अमेरिका समर्थित दक्षिण कोरियाबीच सीमा निर्धारण गर्ने रेखाका रूपमा लिइन्छ । युद्धविराम भए पनि दुवै कोरियाबीच सम्बन्ध तनावपूर्ण नै रह्यो । स्थिति सामान्य बनाउन अनेकौं प्रयत्न भए पनि यथास्थितिमै रह्यो ।

 

युद्धविरामपछि दक्षिण कोरिया अमेरिकाको सुरक्षा छातामुनि रह्यो भने अमेरिकाले विश्वको सुरक्षामा उत्तर कोरिया प्रमुख खतराका रूपमा चित्रित गर्दै आएको छ । विशेषगरी उत्तर कोरियाको युरेनियम प्रशोधन र आणविक शस्त्र विकास सुरक्षा चुनौती बनेको दाबी अमेरिकालगायत पश्चिमी देशहरूले गर्दै आएका छन् ।

 

पछिल्लो समय उत्तर कोरियाले आणविक शस्त्र विकास कार्यक्रम तीव्र पारेपछि उसको एकमात्र समर्थक र छिमेकी चीन, अमेरिकासहित संयुक्त राष्ट्र संघले आर्थिक नाकाबन्दी लगाएका छन् । यसैबीच कोरियाली समस्या समाधान गर्न विभिन्न चरणमा वार्ता पनि भए ।


- सन् १९८५: उत्तर कोरियाले आणविक अप्रसार सन्धीलाई सम्बोधन गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सम्बन्धी सुरक्षा सम्झौता पालना गरेन ।

 

- सन् १९९१: अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्वाचेवले विदेशमा तैनाथ गरेका आआफ्ना आणविक शस्त्र फिर्ता गर्ने निर्णय गरे जसमा कोरियाली युद्धताका दक्षिण कोरियामा तैनाथ गरिएका शस्त्र पनि थिए । त्यसको केही महिनापछि दक्षिण कोरियाली राष्ट्रपतिले आफ्नो देशले कुनै पनि आणविक हतियार उत्पादन र भण्डारण नगर्ने बताए ।

 

- सन् १९९२: उत्तर र दक्षिण दुवै कोरियाले कोरियाली प्रायद्विपलाई आणविक हतियारमुक्त क्षेत्रका रूपमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे । आणविक हतियार परीक्षण, उत्पादन, आविष्कार गर्न वा अन्यत्र तैनाथ गर्न आपसी प्रमाणीकरण गर्नुपर्ने सहमति गरे ।

 

- सन् १९९३: उत्तर कोरियाले आफू आणविक अप्रसार सन्धीबाट बाहिरिने जानकारी संयुक्त राष्ट्र संघ र अमेरिकालाई दियो । अमेरिकी अनुसन्धान एजेन्सीहरूले उत्तर कोरियासँग धेरै मात्रामा प्लुटोनियम (आणविक शस्त्र निर्माणको कच्चा पदार्थ) भण्डारण भएको अनुमान गरे ।

 

- सन् १९९४: अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले उत्तर कोरियाको भ्रमण गरे । उनी उत्तर कोरियाको भ्रमण गर्ने पहिलो पूर्वराष्ट्रपति हुन् । कार्टरले उत्तर कोरियासँग कूटनीतिक वार्ताको वातावरण निर्माण गरे । त्यही वर्ष अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको प्रशासनले उत्तर कोरियासँग आणविक हतियार निःशस्त्रीकरण कार्यविधि सम्झौता गर्‍यो ।

 

- सन् २०००: दक्षिण कोरियासँग उत्तरको वार्ता सकारात्मक भएपछि उत्तर कोरियाली सेनाका वरिष्ठ अधिकारी जो म्याङ रोले वाशिङटनमा अमेरिकी राष्ट्रपति क्लिन्टनसँग भेट गरे । अमेरिकी विदेश सचिव मेडेलिन अलब्राइटले केही समयपछि प्योङयाङ भ्रमण गरिन् । उनले अमेरिकी राष्ट्रपति क्लिन्टनको सम्भावित उत्तर कोरिया भ्रमणको वातावरण बनाउने प्रयास गरे पनि असफल भइन् ।

 

- सन् २००२: क्लिन्टन प्रशासन र उत्तर कोरियाबीच भएको आणविक निःशस्त्रीकरण कार्यविधि भंग । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले प्योङयाङप्रति कडा र फरक दृष्टिकोण प्रकट गरे । उनले उत्तर कोरियाले गोप्य रूपमा युरेनियम संवद्र्धन गरेको आरोप लगाए भने उत्तर कोरियाले अमेरिका आफ्नो प्रतिबद्धताबाट पछि हटेको आरोप लगायो ।

 

- सन् २००३: आणविक हतियार निःशस्त्रीकरण कार्यविधि पतन र आणविक अप्रसार सन्धी उत्तर कोरियाले बहिष्कार गरेपछि चीनले अमेरिका, जापान, दक्षिण कोरिया र रसिया सम्मिलित वार्ता आयोजना गर्‍यो । वार्तामा उत्तर कोरिया पनि सहभागी थियो । वार्ता अवधिभर उत्तर कोरियाले आफ्नो आणविक हतियार विकास कार्यक्रम बन्द नगर्ने अडान लियो ।

 

- सन् २००६: उत्तर कोरियाले पहिलो आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गर्‍यो । यसले उसको कूटनीतिक संकट अझ बढ्यो ।

 

- सन् २००९: अन्तर्राष्ट्रिय आणविक पर्यवेक्षकलाई उत्तर कोरिया आफ्ना आणविक भट्टीहरू पर्यवेक्षण गर्न दिन सहमत भयो । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले उत्तर कोरियाको भ्रमण गरी त्यहाँ कैद दुई अमेरिकी पत्रकारलाई मुक्त गराउन सफल भए ।

 

- सन् २०११: अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले उत्तर कोरियासँग गरेको वार्ता प्रयासबीच सन् १९९४ मा उत्तर कोरियाको शासनमा आएका किम जोंग इलको निधन भयो र उनका छोरा किम जोंग उन सत्तामा आए ।

 

- सन् २०१२: नाकाबन्दी हटाएर भए पनि अमेरिकी राष्ट्रपति ओबामाले उत्तर कोरियालाई वार्तामा ल्याउने प्रयास । उत्तर कोरियाले राखेका न्यूनतम सर्त अमेरिकाले अस्विकार गर्दा र उत्तर कोरियाले आणविक परीक्षण जारी राख्दा वार्ता हुन सकेन ।

 

- २०१६÷१७: नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उत्तेजित पार्ने गतिविधि बन्द नगरे उत्तर कोरियामाथि आक्रमण गर्ने चेतावनी दिए । चीनलाई उत्तर कोरियाको समस्या समाधान गर्न दबाव दिँदै उसले नसघाए अमेरिका एक्लै उत्तर कोरियाली समस्या समाधान गर्न तत्पर रहेको चेतावनी दिए । तनावपूर्ण स्थितिबीच उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल र छैटौं तथा उसले गरेकामध्ये सबैभन्दा शक्तिशाली आणविक परीक्षण गर्‍यो ।

 

- सन् २०१८: दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले ट्रम्प-उन वार्ता आयोजनामा सहयोग गरे । गत महिना दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेताबीच दुवैको सीमामा पर्ने पाङमाजोममा ऐतिहासिक वार्ता भएको थियो । यसैबीच अमेरिका र दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट्नुअघि उत्तर कोरियाका नेता चीन पुगेर चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेट गरे । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

डोनल्ड ट्रम्प किम जोङ ऊन

विशेष