News देश

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीको नाम सिफारिस गरेको हो। 

 

प्रधानन्यायाधीशका लागि सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम न्याय परिषद्ले पठाएको थियो । उनीहरुमध्ये वरीयताक्रममा जोशी पहिलो नम्बरमा रहेका थिए । 

 

जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।

 

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए ।

 

जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

दीपकराज जोशी प्रधानन्यायाधीश सिफारिस

विशेष