मदिरा सेवन गरि खुकुरी देखाइ धक्काएकाे अाराेपमा वडा अध्यक्ष जेल चलान
जाजरकोट । जाजरकोटमा एकजना वडा अध्यक्षलाई सार्वजनिक अपराधमा दोषि ठहर भएको भन्दै प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।
झण्डै डेढ वर्षअघि उनकै गाँउमा भएको एक घटनामा दोषि ठहर्याइएका भेरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नीमबहादुर भनारीलाई मंगलबार दिउँसो जाजरकोट सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यपालिकाको बैठकमा आएका भनारी खलंगाबाटै पक्राउ परेको भेरी प्रहरीले जनाएको छ । साेही ठाउँका शितला रावतले २०७३ साल फागुन १७ गते मदिरा सेवन गरेर आफूलाई खुकुरी देखाई ज्यान लिने धम्की दिएको र गाली गलौज गरेको भन्दै उजुरी दिएका थिए ।
उनले सार्वजनिक अपराध अन्र्तगत कारबाही गरी पाउँ भनि स्थानीय प्रशासन समक्ष जाहेरी दिएको आधारमा नीमबहादुरलाई दोषि ठहर गरी कारागार चलान गरिएको हो । तेतिबेला प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको स्थानीयले बताएका छन् ।
पक्राउ परेका भनारी तेतिखेरै १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए । तेखिखेर भएको घटना वडा अध्यक्ष भएको झण्डै एक वर्ष पुग्न लाग्दा गएको वैशाखमा फैसला गरिएको थियो ।
गएको वैशाख १० गते तत्कालिन जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सीडीयो) पुष्पराज शाहीले वडा अध्यक्ष भनारीलाई दोषी ठहर्याउँदै एक महिना १० दिन कैद र छ हजार रुपैयाँ जरिवाना सुनाएका थिए ।
फैसलामा चित्त नबुझेपछि सम्बन्धीत पक्षले फैसलाको ३५ दिन भित्र पुनरावेदनका लागि निवेदन दिन सकिने कानूनी प्रावधान भए पनि त्यो समयमा पुनरावेदनका लागि पहल नभएको र समय बितेपछि जाजरकोट प्रहरीले फैसला कार्यान्वयन गर्न वडाध्यक्ष भनारीलाई पक्राउ गरिको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिए ।
भनारी तत्कालिन समयमा हिरासतमा १० दिन कटाएर उनले अब एक महिना कारागारमा बस्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । भनारी तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।