News मुख्य समाचार

कुलमानलाई गृहमन्त्री बादलको निर्देशन : एयरपोर्टमा एक सेकेण्ड पनि विजुली नरोकियोस्

कुलमानलाई गृहमन्त्री बादलको निर्देशन : एयरपोर्टमा एक सेकेण्ड पनि विजुली नरोकियोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।

 

गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिए ।

 

नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ छ ।

 

‘कुन स्थानमा कस्तो समस्या छ, त्यसको पहिचान गर्नुस्, कमसे कम अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत् कटौती नहुने प्रबन्ध गर्नुस् । आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छ’ उनले कार्यकारी निर्देशक घिसिङलाई भने ।

 

विमानस्थलमा थोरै मात्रै विद्युत् अवरुद्ध हुँदा पनि त्यसबाट ठूलो समस्या आउने भएकाले विशेष ध्यान दिन मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।

 

घिसिङले ‘भोल्टेज’ मा देखिने समस्याका कारण कहिलेकाहीँ सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

 

समस्या समाधानका लागि प्राधिकरणले विशेष ध्यान दिएको अस्पताल, विमानस्थल तथा अत्यावश्यक क्षेत्रमा कुनै पनि समय विद्युत् आपूर्तिमा समस्या आउन नदिन हदैसम्मको प्रयास गर्ने घिसिङको भनाइ थियो ।

 

‘सामान्यखालका समस्या आउन नदिन प्राधिकरण लागिपरेको छ । अत्यावश्यक क्षेत्रमा त झन समस्या आउनै हुँदैन भनेर हामीले प्रयास गरिरहेका छौँ’  उनले भने ।

 

विद्युत् चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन घिसिङले गृहमन्त्री थापालाई अनुरोध गरेका थिए ।

रामबहादुर थापा बादल गृहमन्त्री कुलमान घिसिङ विद्युत् आपूर्ति

विशेष