प्रधानमन्त्रीज्यू बानेश्वर सडकमा दुई चार डल्ला फ्याँकौं र चम्कौं....
काठमाडौं । असार महिना लाग्न अब थोरै दिन मात्र बाँकी छ । यो समय भनेको आकाशे पानीमा आश्रित कृषकका लागि महत्वपूर्ण घडी हो । तर, काठमाडौंका सडकको स्थितिलाई नियाल्ने हो भने निकै उदेक लाग्ने अवस्था छ ।
सडकको विकास कुनै पनि देशको आर्थिक विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । सडक विकास अनि उचित सडक व्यवस्थापनको अभावमा देशको बजार व्यवस्थापन, पर्यटन विकास, उद्योग, कलकारखाना, व्यापारलगायत सम्पूर्ण आर्थिक क्षेत्रको विकासको परिकल्पना गर्नु भनेको असम्भव नै हुन्छ ।
नेपालको राजधानी अनि देशको मुटु मानिने काठमाडौंको भित्री सहरी सडकको अवस्था यतिको नाजुक छ कि त्यसको बारेमा चर्चा गर्न पनि निकै लाजमर्दो हुन्छ । हुन त कहीँ पनि नभएको जात्रा र समस्या देख्न र अनि भोग्न पाइन्छ हाम्रो नेपालमा । यस खालका समस्याहरू अतिनै संवेदनशील क्षेत्रमा पनि हुन्छन् भन्दा तपाईंहरूलाई हतपत्त पत्याउन गाह्रो होला । तर, कुरा वास्तबमा साँचो हो ।
कुरा हो वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अर्थात् संसद् भवनदेखि हाम्रो नेपाल आजको कार्यालयको दुरी मात्र दुई सय मिटरमा रहेको छ । काठमाडौं उपत्यका यति बेला ‘राजधानी होइन लाजधानी’ भएको छ । अर्थात् धुवाँ, धूलोले उपत्यकावासीहरूलाई आक्रान्त बनाइरहेको क्षण र सडकमा रोपाइँसम्म गर्न मिल्ने अवस्था छभन्दा कुनै बेमेल हुँदैन होला ।
काठमाडौंको अतिनै व्यस्त मानिने क्षेत्र नयाँबानेश्वर र संसद् भवनको पश्चिम मोहडादेखि अलिकति मात्र दायाँ भागमा सडककै बीचमा करिब दस मिटर पर खाल्टो छ र सधैँ दक्षिण मोहडापट्टि हेर्दा सडकै बीचमा पानी जमेर पोखरी भएको दृश्यले चैँ मनलाई अतिनै मोहक बनाएको छ है ! देशकै सर्वोच्च संस्था मानिएको संसद् भवनअगाडि नै यस खालको लापरबाही सजिलै देख्न सक्छौँ ।
हाम्रो यात्रा नयाँबानेश्वरदेखि कपन हाउजिङसम्मको दुरी तय गर्नु थियो । यस क्रममा हामीले नयाँबानेश्वरदेखि यात्राको थालनी गर्ने निधो गरेउ। मध्यम खालको सडक र सवारीसाधनको चाप छिचोल्न सारै हम्मे–हम्मे जस्तै थियो । साथै सँगै सडकको बीच भाग र छेउछाउमा खाल्टो परेर जमेका पानीले गर्दा सवारी तथा पैदल यात्रुलाई हैरानीको सामना गर्नु परेको प्रत्यक्ष देख्न सकिन्थ्यो ।
बानेश्वरदेखि उत्तरतर्फ लाग्दा हाम्रो गन्तव्य पुग्न अझै ४५ देखि ६० मिनेट पार गर्नु थियो । त्यो दुरी पार गर्ने क्रममा हामीलाई पुरानो बानेश्वर, राममन्दिर, गौशालाचोक, चाबहिलचोक, धुम्बाराही, एकता वस्ती, बालुवा खानी, प्रगति नगर, साप्रेढुंगा हुँदै अन्त्यमा कपन हाउजिङ गरी करिब पाँच किलोमिटर गुज्रन पर्दथ्यो ।
हाम्रो यात्राको दुरी मात्र ४५ मिनेटको हुनुपर्नेमा यो लम्बिएर एक घन्टाको हुन पुग्यो । कारण जाम त्यसमाथि पनि हिलाम्मे सडक । खानेपानी तथा ढलका पाइप बिछ्याउनाले पनि काठमाडौंको सडकको अवस्था निकै दुर्दशा देखिन्छ । यस्तै अवस्था थियो मध्य बानेश्वरस्थित एपेक्स कलेजअगाडिको दृश्य, त्यो पनि निकै काहालीलाग्दो छ । सडकको बायाँ भागपट्टि ढलको पाइप बिछ्याउन खाल्टो खनिएको छ । त्यसै त पानी लगातार परिरहेको अवस्थामा सडक हिलाम्मे हुनु कुनै नौलो घटना होइन । तर, त्यही हिलोमा मालवाहक सवारी फसेर सडक घन्टाै समय जाममा पर्नु चैँ तनाव हो । अर्काेतर्फ दैनिक रूपमा आवतजावत गर्ने सवारीसाधन र पैदल यात्री कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
पुरानो बानेश्वर हुँदै गौशालाचोकतर्फ जाँदा सडक किनारा छेउछाउ थुपारिएर राखेका फोहोरको डुंगुर र त्यसको दुर्गन्धले आसपासका बासिन्दा त साँच्चै सहेर बसेका रहेछन् जस्तो अनुभूत भयो । डम्पिङ साइट जस्तो देखिने डुंगुरसँग कसैलाई केही मतलब छैन कि जस्तो छ हाम्रो विचारमा ।
बत्तीसपुतली, बाजेको सेकुवा कर्नर हुँदै द्वारिका होटेल र राममन्दिरतिरको स्थानमा पनि त्यस्तै अव्यवस्था छ । काठमाडौंको यो अवस्था देख्दा विदेशी पर्यटकमाझ सन्देश कस्तो पुग्ला यो भने गम्भीर विषय बन्न पुगेको छ । धेरै संख्यामा सवारीसाधन र पैदल यात्रीहरूले जथाभावी बाटो काटिरहेको दृश्य त राजधानीको दैनिकी जस्तै भएको छ ।
गौशालाचोकबाट हामी सीधै धुम्बाराही हुँदै एकता वस्तीतिर लाग्यां। हिलाम्मे बाटो अनि ठाउँठाउँमा जमेका पानी त्यस्तै रहेछ । हामीले सुधर्न नचाहने सरकारी संयन्त्र र जिम्मेवार निकायलाई धिक्कार्दै धुम्बाराहीचोकबाट एकता वस्ती, बालुवाखानी हुँदै खोलाको किनारतिरको अव्यवस्थित सहरका दृश्यलाई भिडियोमा कैद गर्दै यात्रा जारी राख्यौँ ।
मानिस हिँड्ने र सवारी गुड्ने सडकको अवस्था अनि पोखरी भएर जमेका पानी हामीले प्रायः प्रत्येक सडकमा देख्यौँ । र, यो पनि सामान्य विषय नै थियो । तर, प्रगति नगर र साप्रेढुंगाबीच खण्डको सडकको अवस्था भने अन्य ठाउँहरूभन्दा बिलकुल फरक देखिन्थ्यो । कारण खाल्टो सडक जलमग्न अवस्थामा । यो देख्दा हामीलाई लाग्यो कुनैबेला प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेपालमा पानी जहाज चलाउने सपना देख्नु भएको कतै पूरा हुन लागेको त होइन भन्ने भान भयो ! एक त अव्यवस्थित वस्ती, सँगै रहेको दूषित ढल र खोलाले गर्दा त्यस ठाउँको दृश्यलाई नराम्रोसँग असर पु्र्याइरहेको पाइयो । हिलाम्मे सडक हाम्रो लागि निकै कष्टकर रह्यो यो यात्राको क्रममा ।
सडक विस्तार र पाइप बिछ्याउने कार्य नभएका सडक अवस्था पनि हिँड्न लायकको थिएन् । सडक विभाग र काठमाडौं महानगरपालिकाले मर्मतमा चासो नदेखाएपछि यतिबेला साप्रेढुंगा, कपन हाउजिङवासीले असाध्यै सास्ती खेपेका छन् । राजधानीका सडक एम्बुसजस्ता छन् । सवारीसाधन आवतजावत गर्न हैरानी सहनु पर्नाले दुर्घटनाको चुनौती थपिएको छ । कपन हाउजिङतिर लाग्दा पनि आम मानिसहरूले महसुस गर्ने कुरा पनि हो यो । हिलाम्मे सडकमाथि ठूलाखाले सवारीसाधन चल्न सक्लान्, तर, साना तथा मझौला सवारीसाधन भने कसरी चलाउलान् ? यो भने जटिल विषय भएको छ ।
सरकारी क्षेत्रबाट सडक, बाटोघाटो निर्माणका लागि देशको ढुकुटीबाट अर्बौं रुपैयाँ निकासा गरिएको छ । ती अर्बौं रुपैयाँमध्ये अधिकांश रकम सरकारले तपार्इं, हामी सम्पूर्ण नेपालीहरू चाहे त्यो उच्च वर्गको व्यापारी, जग्गाधनी, घरधनी होस् या मध्यमवर्गका कर्मचारी, व्यवसायी या त न्यून वर्गका किसान–मजदुुर नै किन नहोस् हरेक मानिसहरूसँग विभिन्न नाममा लिने गरेको करको पैसा नै हो ।
यीबाहेक सरकारलाई सडक निर्माण तथा विकास प्रयोजनका लागि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघसंगठनहरूले पनि बेलाबेलामा अनुदान, ऋण पनि प्राप्त भइरहेका छन् । सरकारले सर्वसाधारण जनताबाट उठाउने गरेको कर, अनि विभिन्न दातृ निकायबाट लिएका अनुदानको उचित उपयोग किन गर्न सकेको छैन ?
यो त एउटा उदाहरण मात्र हो । राजधानी काठमाडौंका धेरैजसो सडकहरूको अवस्था नयाँबानेश्वर, पुरानो बानेश्वर, गौशालाचोक, चाबहिलचोक, धुम्बाराही, एकता वस्ती, बालुवा खानी, प्रगति नगर, साप्रेढुंगा र अन्त्यमा कपन हाउजिङभन्दा फरक छैन । आलटाल र टालटुले काम गर्नेभन्दा दीर्घकालीन र टिकाउ हुने किसिमले काम गर्न सम्बन्धित निकायलाई हाम्रो सुझाव छ ।
‘अब दुई चार डल्ला फ्याँक्ने पालो तपार्इंको हो नि प्रधानमन्त्रीज्यू । अनि तपार्इं पनि चम्कनुस् । तपाईंले पनि चान्स पाउनु भाको छ । तपाईं पनि नेपाली नै त होनि । चान्स पाउनै भाको छ क्यारे । दुई चार डल्ला फ्याक्नुस् र चम्कनुस् अनि चमत्कार देखाउनुहोस् कि कसो ?’ त्यसमाथि त प्रधानमन्त्रीज्यू, मेयर विद्यासुन्दर शाक्य त तपाईंको ‘घरका मुर्गी दाल बराबर होइन त?’