‘बुहारी मन्त्री’को पहिलो घोषणा नै असफल
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले चैत २ मा पदभार ग्रहण गरेयता भन्दै आएको एकमात्रै विषय थियो–‘काठमाडौंबासीलाई दशैंमा मेलम्चीको पानी खुवाउँछु ।’ दशैं आउन अब चार महिना बाँकी छ । तर विवाद निरुपण समितिले मेलम्चीको काम सिध्याउन इतालियन कम्पनी सिएमसीलाई सात महिना म्याद थप गरिदिएको छ ।
नाकान्दी, भूकम्पलगायत कारणले समयमा काम सिध्याउन नपाएको भन्दै सिएमसीले १ अर्ब ६५ करोड दावी गर्दै आएको छ । सिएमसीले मेलम्चीमा विवाद गरेपछि सरकारले विवाद निरुपण समिति गठन गरेको थियो । सो समितिले काम सिध्याउन थप सात महिना (२१२ दिन) थप्ने र क्षतिपूर्ति पनि दिने निर्णय गरेको खबरहरु बाहिरिएका छन् ।
खानेपानी मन्त्री बीना मगरका हरेक भाषणमा उनले भन्न नछुटाउने विषय ‘दशैंसम्ममा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउँछु’ भन्ने थियो । २७ किलोमिटर सुरुङ खनेर सकिएपछि सिएमसीले निहुँ खोज्न थालिसकेको थियो । उसले काम रोकेको एक महिनासम्म त खानेपानी मन्त्री मगरले थाहा नै पाएकी थिइनन् । मेलम्चीको काम एक महिनादेखि ठप्प भन्ने खबर सञ्चारमाध्यमहरुमा आएपछि मात्रै सरकारले केही चासो देखाएको थियो ।
दशैंसम्ममा मेलम्चीको पानी काठमाडौं आइपुग्ने मन्त्री मगरको आश्वासन असफल हुने स्पष्ट जस्तै भइसकेको छ ।
खानेपानी मन्त्री बीना मगर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन् ।