News देश

कर्मचारीले छाडेनन् सदरमुकाम

कर्मचारीले छाडेनन् सदरमुकाम

काठमाडाैं । सदरमुकामस्थित जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरू सरुवा गरिए पनि उनीहरूले सदरमुकाम छाडेका छैनन् । सरुवा गरिएका कर्मचारीहरू दरबन्दी रहेको ठाउँमा जान अटेर गर्दै जिल्ला अस्पताल खाँदबारीमै कार्यरत छन् ।

 

स्वास्थ्य विभागबाट डेढ वर्षअघि नै सरुवा पत्र आए पनि उनीहरूले हालसम्म सदरमुकाम छाडेका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका ६ जना कर्मचारीहरू सरुवा गरिएका स्थानमा नगई जिल्ला अस्पतालमै कार्यरत छन् ।

 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार याफु स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनिता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपु स्वास्थ्य चौकीमा राधिका कोइराला सरुवा भएका थिए । तर उनीहरू अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य केन्द्र गएका छैनन् ।

 

स्वास्थ्य विभागले राधिका बस्नेतको डेढ वर्षअघि नै सभापोखरी गाउँपालिका धुपु स्वास्थ्य चौकीमा सरुवा गरेको हो । त्यसको तीन महिनापछि स्वास्थ्य मन्त्रालयले बस्नेतको रवाना पत्र नदिन जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेको थियो । सरुवा भएका कर्मचारी सबैजसो स्थानीय भएका कारण सरुवा भएर जान अटेर गर्ने गरेका छन् ।

कर्मचारी स्वास्थ्य कार्यालय

विशेष