News स्वास्थ्य प्रदेश ४

विश्व रक्तदाता दिवसः भक्तपुर रेडक्रसद्वारा रक्तदाताहरूलाई सम्मान

विश्व रक्तदाता दिवसः भक्तपुर रेडक्रसद्वारा रक्तदाताहरूलाई सम्मान

भक्तपुर । १५ औ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले आज स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुलाई सम्मान तथा प्रशंसा वितरण गरी मनाएको छ ।

 

कार्यक्रममा वार्षिक रूपमा ३ पटकभन्दा बढि रक्तदान कार्यक्रमको आयोजना गर्ने,एकै दिनमा फरक-फरक स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, वार्षिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी  सयभन्दा बढि युनिट रक्त संकलन गर्ने संघसंस्थाहरू र भक्तपुर रक्तसंचारमा आएर वार्षिक रुपमा ३ देखि ४ पटक रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान तथा प्रशंसापत्र वितरणका साथै रक्तसंचार बुलेटिनको बिमोचन गरिएको थियो ।

 

स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थाहरुलाई सम्मान तथा प्रशंसा पत्र वितरण गर्दै जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालले भक्तपुर रेडक्रसको मानवीय सेवा कार्य र रक्तसंचार सेवाको प्रभावकारीताले गर्दा ७७ वटै जिल्लामा उत्कृष्ट हुन सफल भएकोमा भक्तपुरबासीले गौरवान्वित महशुस गरेको बताए ।

 

राजनैतिक संगठनले पनि रक्तदान सम्बन्धि चेतना अभिवृद्धि गरी रक्त संकलन बढाउनु पर्ने बताउँदै उनले रक्त परिक्षण कार्यमा विशेष सजगता अपनाउन रगत संकलन तथा वितरण सम्बन्धि कार्य गर्ने सरोकारवालाहरूलाई सुझाव दिए ।

 

जिल्ला शाखाका सभापति मनोजकुमार थापाले २०४५ सालबाट शुरु गरीएको रक्तसंचार सेवा भक्तपुरले २०६० सालबाट आफ्नै भवनबाट सेवा संचालन गरीरहेको बताए । उनले यस २०७४ असार देखि २०७५ जेठ सम्म २५ हजार ४८ युनिट रगत संकलन गरी ४२ हजार २ सय ६० युनिट रगत तथा रक्ततत्व वितरण गर्न सफल भएकोले रगत नपाए भक्तपुर जानु भन्ने नारालाई ब्यवहारिक रूपमै सफल पार्न सकेको बताए ।

 

सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार अधिकारी, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेपाल कम्यूनिष्ट पार्टी भक्तपुरका कार्यवहाक अध्यक्ष बचन देउजालगायतले रगत नपाए भक्तपुर जानु भन्ने भनाइलाई भक्तपुर रेडक्रसले चरितार्थ गर्न सफल भएकोमा सबै स्वयंसेवकलाई धन्यवाद दिए ।

 

रक्तसंचार व्यवस्थापन समितिका सभापति एवं भक्तपुर रेडक्रसका कार्य समिति सदस्य सुर्य बहादुर खाइतुको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले संचालन गरेका थिए ।

 

सम्मान विश्व रक्तदाता दिवस भक्तपुर रेडक्रस रक्तदाता

विशेष