भिडियो राजनीति कभर स्टोरी

नेकपाका नेता भरत बम भन्छन्: अबको सशस्त्र युद्ध अमेरिका र भारतको नीतिविरुद्ध (भिडियोसहित)

नेकपाका नेता भरत बम भन्छन्: अबको सशस्त्र युद्ध अमेरिका र भारतको नीतिविरुद्ध (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य भरत बमले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण सामाजिक दलाल पुँजीवादअन्तर्गत भएको विचार व्यक्त गरेका छन् । 

 


नेपाल आजसँगको विशेष कुराकानीमा उनले भने, ‘एमाले र माके नक्कली पार्टी भएकाले उनीहरूले क्रान्तिको कुरा नगर्नु भन्नु लोकतन्त्र र गणतन्त्र जे भनिएको छ, त्यो राष्ट्र र जनताको विरुद्धमा छ ।’ 

 


उनले नेपाल स्वाधीन र स्वतन्त्र नभएको तर्क गर्दै भने, ‘सुगौली सन्धिपछि नै नेपाल उपनिवेशिक देश हो र अहिले नवउपनिवेश भएको छ । त्यसको पछिल्लो उदाहरण भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हो । संसारमा साम्राज्यवादको नेतृत्व अमेरिकाले गरिरहेको र दक्षिण एसियामा आउँदा त्यसको नेतृत्व भारतले गरिरहेकाले हामीले भारतलाई अहिले विस्तारवादीको सट्टा साम्राज्यवादी मुलुक भन्न थालेका हौं । नेपाललाई अमेरिकी र भारतीय साम्राज्यवादबाट खतरा छ, त्यसमा अहिले युरोपीय देशहरू पनि मिसिएका छन् ।’


नेपाली युवाहरू खाडी मुलुकमा गएर आधुनिक दास बन्न बाध्य भइरहेको बताउँदै नेकपाका नेता बमले भने, ‘आणविक अस्त्रशस्त्रमा टेकेर शान्ति, मानवअधिकारको कुरा गर्ने ? विश्वमा गरिबीका कारण दिनका दिन मान्छेहरू मरिरहेका छन् । त्यसकारण हतियारको बलमा ल्याइएका मानवअधिकार अधिकार होइन । लोकतन्त्र लोकतन्त्र होइन त्यस्तै समृद्धि समृद्धि होइन नक्कली कुरा हो ।’

 


कुराकानीका क्रममा उनले मूलभूत रूपमा दलाल, पुँजीवादी नेपाली शासक नेपाली जनताका प्रमुख दुस्मन भएको बताउँदै उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किमजोन उनबीच हालै भएको वार्ताले पनि के दर्शाउँछ भने विश्वमा अशान्तिको कारण साम्राज्यवाद हो भन्ने प्रस्ट भएको छ ।’

 


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहलाई हिंसात्मक अतिवाद भन्ने संज्ञा दिएका छन् भन्ने प्रश्नमा उनले भने, ‘हो पछिल्लो पटक मैले त्यो सुनँे । हिंत्सात्मक अतिवाद भनेर जुन रामबहादुर थापा बादलले भनेका छन्, यो बादलको भाषा होइन । रामबहादुर थापाको हुनसक्छ । बादलको भाषामा यसलाई के भनिन्छ, भने सशस्त्र क्रान्ति । एक दिन रामबहादुर थापालाई यो पनि भन्ने दिन आउँछ निरंकुश राज्यको निरंकुश रामबहादुर अथवा  फाँसीवादी दलाल राज्यको फाँसीवादी रामबहादुर भन्ने दिन चाहिँ नेपालमा नआउला भन्न सकिँदैन् । किनभने यिनीहरूको सोचाइ भनेको फाँसीवादी सोचाइ हो ।’

 


उनले आफूहरूले कुनै दलाल पुँजीपतिहरूसँग कुनै चन्दा वा आर्थिक सहयोग नलिएको दाबी गर्दै भने, ‘पुँजीपति दलाललाई इन्काउन्टर गर्नैपर्छ विनोद चौधरी, प्रचण्ड, ओली र देउवा पुँजीपति दलाल हुन् ।’

 


तपाईंहरूसँग हतियार छ कि छैन भन्ने प्रश्नमा नेता बमले भने, ‘यी प्राविधिक कुराहरूमा नजाऔँ । तपाईं जसरी टाउकोबिनाको मान्छेको परिकल्पना गर्न सक्नुहुन्न, त्यस्तै उपकरणबिना कृषकले केही गर्न सक्तैन त्यस्तै हो, बन्दूक परिवर्तनका साधन हुन् ।’

 


नेता बमको समसामयिक राजनीतिका विषयमा गहन विश्लेषण सुन्न भिडियो प्ले गर्नु होला ।          
   


अन्य राजनीतिक दलहरूले नेकपालाई विप्लव समूह भनेर जुन होच्याइने गरेको छ त्यसलाई आफ्नो पार्टीले अस्वीकार गरेको बताउनु भएको छ ।

विप्लव नेपाल कम्युनिस्ट पार्टी भरत बम

विशेष