दिलबहादुर घर्ती बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग
काठमाडौं । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत र पोर्चुगलबाट दश लाख बढी रकम संकलन भएको छ ।
राप्ती समाज यूकेको नेतृत्वमा आठ लाख ७५ हजार पाँच सय ५५ रुपैयाँ र पोर्चुगलमा रहेका नेपालीबाट एक लाख ३९ हजार पाँच सय ४१ रुपैयाँ संकलन भएको हो ।
बेलायतबाट उठेको सहयोग रकम बुधबार राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिंह रोकाले दिलबहादुर घर्ती बचाउन ब्लड मनी संकलन मूल समिति र दिलबहादुरकी पत्नीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
पोर्चुगलबाट उठेको रकम पनि बुधबार नै त्यहिँ निवासी सुवास पुनले अभियानलाई हस्तान्तरण गरेका छन् । बुधबार नै नन्द घर्तीमगरको पहलमा संकलित १६ हजार, अर्जुन तिवारी १० र गंगा राईको पहलमा संकलित सात हजार रुपैयाँ पनि समितिलाई हस्तान्तरण गरिएको छ ।
रोल्पा नगरपालिका–१०, घर भएका दिलबहादुर दुई वर्षदेखि साउदीको जेलमा छन् ।
उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन जादा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ ।
साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
दिलबहादुरको जीवन रक्षा तथा जेल मुक्त गर्न उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ले अभियानलाई जारी राखेको छ ।
दिलबहादुरको जीवन रक्षाका लागि सहयोग रकम जम्मा गर्न अभियानका मूल समिति संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं को खाता खोलिएको अभियानले जनाएको छ ।