News खेल

स्पेन र पोर्चुगलबीचकाे रोमाञ्चक भिडन्तमा कसले मार्ला बाजी ?

३५ पटक अामुन्ने सामुन्नेकाे यस्ताे छ नतिजा

स्पेन र पोर्चुगलबीचकाे रोमाञ्चक भिडन्तमा कसले मार्ला बाजी ?

काठमाडाैं । फुटबलको महासंग्राम २०१८ को फिफा विश्वकपअन्तर्गत दोस्रो दिनको प्रतियोगितामा समूह ’बी’बाट हुने स्पेन र पोर्चुगलबीचको खेललाई समूह चरणकै रोमाञ्चक मानिएको छ । दुवै टिमको लक्ष्य उपाधि भएकाले खेललाई महत्वका साथ लिइएको छ ।


स्पेन–पोर्चुगलबीचको खेलअघि इजिप्ट–उरुग्वे तथा मोरोक्को –इरानको खेल रहेको छ । यद्यपि स्पेन र पोर्चुगलको खेलले भने समर्थक देखि फुटबल पण्डितहरुको ध्यान तानेको छ । स्पेन र पोर्चुगल एक अर्काको बलियो प्रतिद्वन्दि भए पनि ठूलो प्रतियोगितामा भने दोस्रो पटक मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । 


यसअघि सन् २०१० को विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा भएको थियो । जसमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो । दुई टिमबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये स्पेनले १६ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ ।


स्पेनिस टिम


स्पेनिस टिमलाई सन्तुलित टिम मानिएको छ । युवा र अनुभवी खेलाडीको समिश्रण भएकाले स्पेन मानसिक रुपमा बलियो छ । तर विश्वकपअघि प्रशिक्षक जुलेन लोपेटेगुइ बर्खास्तमा परेपछि टिममा के कस्तो प्रभाव पर्छ भन्नेबारे फुटबल पण्डितहरु अड्कल काट्न थालेका छन् । अहिले स्पेनलाई फर्नान्डो हिइरोले सम्हाल्नेछन् ।

 

पोर्चुगल टिम


यता युरोपियन च्याम्पियन पोर्चुगलमा अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोका साथ प्रतिभाशाली युवा खेलाडी छन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले स्पनेलाई बलियो टिम बताएका छन् ।

 

तर पनि उनले समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिमअघि बढ्न तयार भएको बताए । युरो २०१६ को विजेतासँग खेल खेल्दा स्पेनलाई सहज नहुने स्पेनिस टिम विश्लेषकको भनाइ छ । तर पछिल्ला २० खेलमा अपराजित स्पेन उच्च मनोबलमा छ । 

सम्भावित टिम

स्पेन 

गोलकिपर– डेभिड डे गिआ

डिफेन्डर – जोर्डि अल्बा, सर्जिओ रामोस, जेरार्ड पिक, नाचो 

मिडफिल्डर– सर्जिओ बुस्केटस्, थियागो अल्कानटारा, आन्द्रेस इनिस्टा, इस्को,  डेभिड सिल्भा

फरवार्ड – डिएगो कोस्टा

 

पोर्चुगल 

गोलकिपर– रुइ प्याट्रिसिओ 

डिफेन्डर – राफायल गुइरेइरो, जोस फोन्टे, पेपे, सेड्रिक

मिडफिल्डर – जोएओ माउटिन्हो, विलियम, बेर्नान्डो सिल्भा

फरवार्ड– क्रिस्टियानो रोनाल्डो, गोल्कालो गुइडेस 

स्पेन विश्वकप २०१८ पोर्चुगल

विशेष