News अर्थ

प्रदेश ४ ले ल्यायाे २४ अर्ब २ करोडकाे बजेट, कुन क्षेत्रमा कति?

प्रदेश ४ ले ल्यायाे २४ अर्ब २ करोडकाे बजेट, कुन क्षेत्रमा कति?

पोखरा । प्रदेश ४ काे सरकारले अागामी अार्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६ अर्ब ९१ करोड ५५ लाख (२९ प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख (६६ प्रतिशत) छुट्टाइएको बताए।

 

५ प्रतिशत् बजेट वित्तिय हस्तान्तरणका १ अर्ब २० करोड (समानीकरण १ अर्ब, समपुरक १० करोड र विशेष १० करोड) रहेको छ। बजेटको स्रोतमा समानीकरण अनुदान ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदान ६ अर्ब ५० करोड १९ लाख रहेको छ।

 

त्यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ६ अर्ब ५७ करोड ६० लाख, समपुरक अनुदान ७१ करोड ४२ लाख, विशेष अनुदान ३५ करोड ५० लाख र आन्तरिक राजस्वबाट प्राप्त १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पनि बजेटका स्रोत हुन।

 

बजेटमा १ अर्ब ४० करोड रुपैयाँ न्युन हुने भएकाले आर्थिक वर्ष २०७४/०७५ को नगद मौज्दात ६० करोड र आन्तरिक ऋणबाट ८० करोड व्यहोरिने मन्त्री गुरुङले बताए।

 

उद्योग क्षेत्रका लागि ५० करोड, पर्यटनलाई ५५ करोड, होमस्टे पूर्वाधारका ३० करोड, कृषि तथा पशुमा १ अर्ब ४० करोड, खानेपानीमा ५२ करोड, सडकलाई ३ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ। साथै सिँचाईलाई ६३ करोड, शिक्षामा ५६ करोड, स्वास्थ्यमा १ अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ।

 

बजेटले स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई सडक संजाललाई उच्च प्राथमिकतामा राखि २ अर्ब ६ करोड ६५ लाख विनियोजन गरेको छ। एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम अन्तर्गत प्रदेशका ३६ निर्वाचन क्षेत्रका लागि जनही २ करोड १० लाख छुट्टाइएको छ।

 

स्थानीय तहसँगको सहलगानीका कार्यक्रममा १ अर्ब १२ करोड, मोटरेवल पुलका लागि ५१ करोड ८५ लाख, झोलुंगे पुलमा ६ करोड २७ लाख, सबै घरमा विजुली पुर्‍याउन ३८ करोड, काठेपोल विस्थापित गरी विद्युतमा स्टिल पोल ल्याउन ५ करोड छुट्टाइएको छ ।

 

तटबन्धन निर्माणमा २५ करोड ९५ लाख, फेवातालको पूर्वाधार बिकास र सौन्दर्यकरणका लागि ८ करोड पनि विनियोजन गरिएको छ । पर्यटन, उर्जा, कृषि, उद्योग, सामाजिक क्षेत्रको भौतिक पूर्वाधार बिकासमा जोड दिँदै प्रदेश सरकारले बजेट ल्याएको हो।
 

प्रदेश ४ बजेट

विशेष