नेकपाका सांसदलार्इ बजेटको आलोचना नगर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बजेटप्रति संसदमा आफ्नै सांसदले आक्रोश पोखेपछि लगाम लगाएको छ । संसदीय दलको बैठक राखेर नेकपाले बजेटको विरोधमा नउत्रन सांसदहरुलाई निर्देशन दिएको हाे ।
प्रधानमन्त्री एवं नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई बजेटमाथिको छलफलमा भाग लिदा आलोचना नगर्न निर्देशन दिएका हुन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले बजेटप्रतिको असन्तुष्टि संसदमा नभइ पार्टीभित्रै राख्न दिर्नेशन दिए ।
ओलीले भने, ‘बजेटमा तपाईंहरुको असन्तुष्टि होलान् । कतिपय कमीकमजोरी पनि भएका छन् । यस्ता असन्तुष्टि संसदमा भन्दा यही (दलको बैठकमा) राख्नुहोस् ।’
बुधबारदेखि संसदमा सुरु भएको बजेटमाथिको छलफलमा सत्ता रुढ नेकपाकै सांसदहरु विपक्षीभन्दा कडा रुपमा प्रस्तुत भएपछि नेकपाले संसदीय दलको बैठक बोलाएर बोलीमा लगाम लगाउन खोजेको हो ।
बुधबार र बिहीबार मन्त्रालयगत रूपमा विनियोजन गरिएको बजेटमाथिको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदहरु प्रेम आले, झपड रावल, गजेन्द्र महतलगायतले मन्त्रीको विवेक नै नभएको आरोप लगाएका थिए ।
तर, ओलीले संसदीय दलको बैठकमै असन्तुष्टि राख्न भनेका छन् । दलको बैठकमा भीम रावल, यज्ञराज सुनुवारलगायतका सांसदले बजेट निर्माणमा मन्त्रीहरुले मनलाग्दी ढंगले बजेट निर्माण गरेको भन्दै अध्यक्षद्धय ओली र दाहालसामू मन्त्रीहरूकै अगाडि चर्को आलोचना गरेका छन् ।
बजेट