News मुख्य समाचार

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरू नै भ्रष्टाचारीः डा. केसी

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरू नै भ्रष्टाचारीः  डा. केसी

काठमाडौं । डा.गोविन्द केसीले वर्तमान सरकारले पञ्चायतकालीन राजा महाराजाको प्रवृत्ति देखाएको आरोप लगाएका छन् । अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार माईतीघर मण्डलामा मुखमा टेप टाँसेर विरोधमा उत्रिएका केसीले सरकारले जनतालाई रैती ठान्ने गरेको बताए ।

 

नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रीय र स्वेच्छाचारी ढंगले अघि बढेकाले आफुले मुखमा टेप लगाएर विरोध गर्नुपरेको स्पष्ट पारे । सर्वोच्चले अपराधी ठहर गरेकालाई माफी दिएर सरकारले गणतन्त्रमाथि नै प्रहार गर्ने काम गरेको उनकाे तर्क थियाे ।

 

उपत्यकाका ७ स्थान बाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रर्दशनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दिँदै डा. केसीले मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताए ।

 

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरू नै भ्रष्टाचार रहेको उनकाे अाराेप थियाे । प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कम हुने डा. केसीले दाबी गरे ।

 

उनले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लागायत ६ बुँदे मागअघि सारेका छन् । डा. केसीले माग पूरा नभए सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी पनि दिए ।  

डा.गोविन्द केसी

विशेष