News मुख्य समाचार राजनीति

नेविसंघले गर्‍याे दोस्रो चरणको आन्दोलन घोषणा

नेविसंघले गर्‍याे दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 


अध्यक्ष नैनसिंह महरले आइतबार विज्ञप्ती जारी गरेर मूलयवृद्धि र कालोबजारीको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । ने क पा नेतृत्वको सरकार गठन भएको एक सय दिनभित्रै पाँच पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेविसंघ आन्दोलनमा उत्रनु परेको अध्यक्ष महरको भनाइ छ । 

 

दोस्रो चरणको आन्दोलन अन्तर्गत नेविसंघले असार ४ गते मंगलबार बिहान ९ बजे देशैभरीका शिक्षण संस्था अगाडि एक घण्टा चक्काजाम गर्ने भएको छ । असार ५ गते ७७ वटै जिल्ला सदरमुकाममा सरोकारवाला पक्षसँग सडक बहस र असार ८ गते नेपाल आयल निगमका कार्यालयहरु घेराउ गरिने विज्ञप्तीमा उल्लेख छ । 

 

नेविसंघले मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै असार १० गते प्रदेश मुकामहरुमा विरोध सभा र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने जनाएको छ ।

 

मूल्यवृद्धिको विरोधमा घोषणा गरिएको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेविसंघले असार १२ गते मध्यान्ह १२ बजे ५ मिनेट देशैभरी आ–आफ्ना सवारी साधनहरुको हर्न बजाई सरकारको चेत खुलाउने पनि जनाएको छ । 

 

अध्यक्ष महरले मूल्यवृद्धि फिर्ता र कालोबजारी नरोकिएसम्म विद्यार्थी आन्दोलन जारी रहने चेतावनीसमेत दिए । यसअघि नेविसंघले पहिलो चरणको आन्दोलनअन्तर्गत सिठी जुलसु–राँके जुलुस प्रदर्शन तथा प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम देशव्यापी रुपमा गरेको थियो ।  
  

नेविसंघ पेट्रोलियम पदार्थ मूलयवृद्धि

विशेष