पूर्व प्रधानमन्त्रीहरुले ओलीलार्इ चीन भ्रमणबारे यस्ताे दिए सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक परामर्श गरेका छन्।प्रधानमन्त्री ओलीले आइतबार सिंहदरबारमा पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक भेट गरी चीन भ्रमणबारे परामर्श गरेका हुन्।
प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा जाँदैछन्।परामर्शका क्रममा पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन्।
पारवहन लगायतका सम्झौता कार्यान्वयनमा ठोस सहमति हुने र चीनको आर्थिक विकासबाट नेपालले बढीभन्दा बढी लाभ प्राप्त गर्न यो भ्रमण सफल हुने पूर्व प्रधानमन्त्रीहरुले विश्वास व्यक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
भेटमा पूर्व प्रधानमन्त्रीहरुले नेपालको विकासमा चीनको लगानी बढाउनमा जोड दिन ओलीको गम्भीर ध्यानाकर्षण गराए। यता, प्रधानमन्त्री ओलीले भने आफ्नो चीन भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध र आर्थिक साझेदारी उचाइमा पुग्ने बताएका छन।
प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सिंहदरबार पुगेका थिए। यसक्रममा भट्टराईले ओलीलाई लिपुलेकको विषय उठाउन आग्रह गर्दै १० बुँदे सुझाव पत्र पनि दिएका थिए ।