राजपा जुट्याे महाधिवेशनको तयारीमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकमा पार्टी महाधिवेशनको मूल एजेन्डामा केन्द्रित भएर छलफल सुरु गरिएको हो ।
सोमबारबाट काठमाडौंमा सुरु भएको समितिको बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले महाधिवेशनमा केन्द्रित हुने गरी पार्टीको विधान निर्माणको कामलाई जोड दिएर एजेन्डा पेश गरेका हुन् ।
त्यसैगरी बैठकमा संसदीय दलको नेता चयनका विषयलाई पनि प्रवेश गराइएको नेता अनिल झाले जानकारी दिए । पार्टीको विधान, संसदीय दलको नेता चयन र मुलुकको समसामयिक परिस्थितिका बारेमा बैठकमा छलफल केन्द्रित हुनेछ ।
मंगलबारदेखि पार्टीका नेताहरुले प्रस्तुत एजेन्डामा केन्द्रित भएर छलफलमा भाग लिने पनि नेता झाले बताए । राष्ट्रिय जनता पार्टी, नेपाललाई महाधिवेशन सम्पन्न गर्न निर्वाचन आयोगले पनि ताकेता गर्दै आएको छ ।