भिडियो राजनीति कभर स्टोरी

चीन विज्ञ प्रेमसागर भन्छन्, नेपालले एक चीन नीति लिन सकेन, स्थिति प्रत्युत्पादक हुन्छ (भिडियो)

चीन विज्ञ प्रेमसागर भन्छन्, नेपालले एक चीन नीति लिन सकेन, स्थिति प्रत्युत्पादक हुन्छ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणमा निस्किएका छन् । उनको भ्रमणको मिति सार्वजनिक भएदेखि नै नेपाली राजनीतिमा यस विषयलाई लिएर बहस सुरु भएका थिए । परराष्ट्र विज्ञदेखि विभिन्न राजनीतिक दलका नेता तथा पत्रकारहरूले यो भ्रमणबाट ओलीको अग्नि परीक्षा हुने बताउँदै आएका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा गरेका सहमति र सम्झौताले राष्ट्रवादीको पगरी पाएका ओलीले आफ्नो पहिलेको छवि बचाउन सक्छन् कि सक्दैनन् भन्ने विषयले विज्ञहरूमा हुटहुटी चलाइदिएको छ । यसबीचमा नेपाल आजले प्रधानमन्त्री ओलीको भ्रमणबारे  नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलसँग अन्तर्वार्ता गरेको छ । 


अन्तर्वार्ताको क्रममा उनले चीन नेपालप्रति सकारात्मक भएपनि प्रधानमन्त्रीको भ्रमणलाई उत्साहजनक रूपमा नलिएको  बताए । 


उनले भने, ‘चीनको समर्थन भनेको नेपाल र नेपालीलाई हो, जो सुकै गएपनि नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै आइरहेका छन् भनेर सम्मान दिएको छ  । विगतमा जस्तै यसपालि पनि राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको भेट हुनेछ ।’ 


पौडेलका अनुसार दुई राष्ट्रका नेताबीच भेटघाट हुनु महत्वपूर्ण कुरा नभई नेपाललाई चीनले कति महत्व दिन्छ र कस्ता विषयहरूमा छलफल हुन्छ भन्ने कुराचाहिँ महत्वपूर्ण रहेको विश्लेषण गरे । 


प्रधानमन्त्री ओली पहिलोपल्ट चीन भ्रमण जाँदा दुई देशबीच १५ बुँदामा सहमति भएको थियो । अहिलेको भ्रमणमा यसै सम्झौतालाई कार्यान्वयन गराउन जोड दिने कुरा छ । तर, नेपालले भने राम्रोसँग तयारी गर्न नसकेको गुनासो पौडेलको छ । ‘नेपाल सरकारले १३ वटा सामान्य एजेन्डा बनाएको छ । त्यसमा कुनै महत्वपूर्ण एजेन्डा छैन ।’ उनले भने, ‘रसुवागढीबाट काठमाडौंसम्म रेलको कुरा आएको छ । नेपाल पक्षले यसलाई बलियो ढंगले उठाउन सक्दैन ।’ नेपालको चीनसँगको सम्झौता राम्रो भएतापनि नेपाल परनिर्भर बन्न नहुने र नेपालको स्वतन्त्र नीति हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘हामी नेपाल र चीनबीचको मित्रता राम्रो होस् भन्ने चाहन्छौँ । नेपाल चीनप्रति पूरै निर्भर हुनुपर्छ भन्ने पक्षमा पनि छैनौँ । नेपाल एउटा स्वतन्त्र देश हो ।

नेपालको आफ्नै स्वतन्त्र नीति हुनुपर्छ । त्यहीअनुसारले आफ्ना कार्यक्रमहरू अगाडि सार्नुपर्छ ।’ 


नेपालप्रति चीनले सद्भाव देखाउँदा देखाउँदै पनि नेपाल चीनको साझेदार बन्न नसक्नुमा नेपालकै कमजोरी भएको उनले औंल्याए । त्यसैगरी चीनले अहस्तक्षेपको नीति अंगालेको हुँदा नेपालमा कहिल्यै हस्तक्षेप नगर्ने तर, नेपालले भने चीनबिरोधी कामहरूलाई बढावा दिने गरेकाले यसबाट नेपाललाई घाटा रहेको कुरा उनले उल्लेख गरे । ‘नेपाल चीनको पुरानो मित्र भएको हुनाले नेपाललाई भित्रैदेखि सहयोग गरिएको छ । तर, नेपालले चीनविरोधी गतिविधिलाई संरक्षण (प्रोटेक्सन) गरिरहेको छ । चीनले भने नेपालप्रति सद्भाव कायम राखेको छ । किनकि चीनले अहस्तक्षेपको नीति अंगालेको छ ।’

 

 उनले भने, ‘चीन र नेपालसँगको सम्बन्ध बिग्रियो भने यसले नेपालको स्थायित्व र अस्तित्वमाथि नै प्रश्न खडा गर्न सक्छ । हामी अस्थिरता र द्वन्द्वको भूवँरीमा जाकिन सक्छौँ । कूटनीतिक चातुर्यता देखाउन सकिएन भने हामी नराम्रोसँग फस्छौँ । हामीले दुःखका दिनहरू धेरै व्यहोर्नुपर्छ ।’


हाम्रा नेताहरू परिपक्व नभएकाले चीनको मित्रता, विश्वास, समानता र गम्भीरतालाई नबुझेकोमा उनले दुःख प्रकट गरे । 


‘हाम्रा नेताहरू परिपक्व छैनन् । उनीहरू चीन जान्छन् । चीनले भारतसँग राम्रो सम्बन्ध बनाउनुस् भनेर राम्रो सन्देश दिन्छ, तर, हस्तक्षेप सहनु भनेर कहिल्यै भन्दैन । तर, हाम्रा नेताहरू भने अर्काको स्वार्थको निम्ति चीनप्रति विरोध झल्कने किसिमको काम गरिरहेका छन्’, पौडेलको कथन थियो ।  


र यो पनि,

चिनियाँ रेल आउन नदिन बाह्य तत्व सक्रिय (भिडियाेसहित)

प्रेमसागर पौडेल केपी शर्मा ओली

विशेष