चोटिल रोड्रिग्वेज जापानविरुद्ध खेलकाे दाेस्राे हाफमा उत्रिए मैदानमा
मस्काे । सन् २०१४ को विश्वकप फुटबलमा गोल्डेन बुट विजेका कोलम्बियाली खेलाडि जेम्स रोड्रिग्वेजले विश्वकप २०१८ मा पहिलो खेल नै गुमाउने भनिए पनि खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका छन् ।
पिँडुलाको चोटका कारण उनी जापानविरुद्धको खेलमा बेञ्चमै बस्ने निश्चित भएको भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए । तर उनी खेलको ५९ औँ मिनेटमा जुवान क्विन्टेरोको स्थानमा मैदानमा प्रवेश गरेका हुन् । क्विन्टेरोले जापानसँग एक–शून्यले पछि परेको अवस्थामा ३९ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै बराबरी गरेका थिए ।
जापानले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टी पाएका थियो । कोलम्बियाली खेलाडी कार्लोस सान्चेजले शिन्जी कागावाको गाेललाई हातले रोकेपछि जापानले पेनाल्टी पाएको हो । कागावाले पेनाल्टीमार्फत गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
१० खेलाडीमा सीमित भएपछि जितका लागि संघर्ष गरिरहेको कोलम्बियाका लागि प्रशिक्षक जोसे पेकरम्यानले जोखिम लिएरै भए पनि घाइते रोड्रिग्वेजलाई मैदान प्रवेश गराएका हुन् ।
अघिल्लो संस्करणको विश्वकपमा उनले ५ खेलमा ६ गोल गरेका थिए । रियल मड्रिडमा स्थान बनाउन नसकेपछि लोनमा बायर्न म्युनिख गएका रोड्रिग्वेजले गत सिजन क्लबमा ७ गोल गर्दै ११ एसिस्ट गरेका थिए ।
विश्वकप छनोट प्रतियोगितामा ६ गोल र चार असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि ६३ खेलमा २१ गोल गरिसकेका छन् ।