News मुख्य समाचार

कच्चा सल्लाहकारले ‘घर न घाट’को बनाए पूजालाई

कच्चा सल्लाहकारले ‘घर न घाट’को बनाए पूजालाई

काठमाडौं । सामूहिक बलात्कारको सिकार भएकी पूजा बोहोरा अहिले समस्यामा परेकी छन् । बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी पूजालाई रक्षा नेपालले आश्रयमात्रै दिएन, उनको उपचारमा ठूलो सहयोग पनि गरेको थियो । तर, पछिल्लो समय पूजा आफ्नै सल्लाहकार र शुभचिन्तकको कच्चा सुझावको सिकार भएकी छन् । 

 

सामान्यतः यौन हिंसामा परेका महिला बालबालिकाको अनुहार सार्वजनिक गरिँदैन । सामाजिक अवहेलनाको सिकार हुनबाट जोगाउन यस्तो गर्ने प्रचलन अन्यत्र झँै नेपालमा पनि छ । त्यो नियमको पालना रक्षा नेपालदेखि नेपालका सबैजसो सञ्चारमाध्यमहरूले गर्दैै आएका थिए । 

 

तर, जब पछिल्लो समय पूजाले विश्वासपात्र मानेको ‘विश्वास नेपाल’ नामक संस्थाका अध्यक्ष प्रदीप घिमिरेले उनको अनुहार सार्वजनिक गरिदिए । जेठ १७ मा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर प्रदीपले पीडितको अनुहार दुनियाँले चिन्ने गरी सार्वजनिक गराइदिए ।

 

रक्षा नेपालकी सञ्चालिका मेनुका थापाको मतअनुसार प्रदीपले पूजालाई उचालेका हुन् । पूजाले रक्षा नेपालको आश्रय त्यागिन् । होस्टलमा बस्ने प्रबन्ध पनि रक्षा नेपालले गरिदियो । होस्टलबाट पनि प्रदीपले पूजालाई निकाले । आफ्नै डेरामा लिएर गए । उनले नेपाल आजसँगको कुराकानीमा भनेका छन्, ‘मेरो एक बहिनी थिइन् । अब पूजा आएर दुई बहिनी भए । उनको रक्षा म आफँै गर्छु ।’

 

तर, उनको यो भनाइ एक महिना पनि टिकेन । सोमबार उनले भने, ‘मैले भनेको हो, तर, उनलाई राखिराख्न परिवारमा समस्या भयो । सधँैभर त आश्रय दिन कहाँ सकिन्छ ?’ यो भनाइले पनि प्रदीपको कच्चा खेलको सिकार पूजा भइन् भन्ने देखिन्छ । 

 

अब पूजा वास्तवमै ‘न घर न घाट’ को भइन् । रक्षा नेपाल जाने बाटो पनि प्रदीपका कारण बन्द भयो । प्रदीप आफैँले आश्रय दिने भनेर पूजालाई लिएर गए । अहिले प्रदीपको परिवारमा पूजाकै कारण किचलो भएको छ । अर्थात् पूजाका लागि प्रदीपको डेरा पनि बन्द हुने स्थिति छ । पूजालाई काठमाडौंमा राख्न सक्ने उनको परिवारको आर्थिक अवस्था छैन । 

 

अहिले पनि पूजालाई मिडियासँग एक्लै कुराकानी गर्न प्रदीपले दिँदैनन् । उनले मिडियामा कसरी कुराकानी गर्ने भनेर रिहर्सल नै गराउँछन् । अवस्था हेरेर रुनँ, हाँस्न, आवेशमा आउन प्रदीपले सिकाउँदै आएका छन् । प्रदीपले सिकाएअनुसार अभिनय गर्न नजान्दा पूजा उनका लागि बोझ भएको बुझिन्छ ।  

पूजासँगकाे कुराकानी

 

पूजालाई रक्षा नेपालको आश्रयबाट निकालेर बबन्डर मच्चाउने र आफ्नै विश्वास नेपाल नामक संस्था चम्क्याउने प्रदीपको चाहना थियो भन्ने गरिन्छ । तर, प्रदीपले भनेका छन्, ‘मैले बहिनीको न्यायका लागि गरेको हो यो सबै । उनलाई बिचल्लीमा पार्दिनँ । सेटलमेन्ट गरेर मात्रै छाड्छु ।’ 

 

लामो समय रक्षा नेपालमा बसेकी पूजा अहिले कुनै पनि संस्थाको सहयोग नलिने भन्न थालेकी छन् । सरकारी पक्षले पूजाजस्ता पीडितलाई सहयोग गर्ने भरपर्दोे व्यवस्था नभएको जनाएको छ । पूजाको घरको अवस्था राम्रो छैन । रक्षा नेपालको बाटो बन्द भइसकेको छ । प्रदीपले पनि अब धेरै दिन राख्न नसक्ने बताइसकेका छन् । 

मेनुकाकाे भनाइ 

 

(तस्बिरमा पूजा र प्रदीप )
 

बलात्कार रक्षा नेपाल पूजा र प्रदीप

विशेष