राजनीति News मुख्य समाचार

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन तर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो ।


चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हुन लागेको यो भ्रमणमा ओली जम्बो टोली लिएर गएका छन् । निजी क्षेत्रको हिमालयन एयरलाइन्समा उनको भ्रमण टोली बेइजिङ जाने छ । भ्रमण टोलीमा चार मन्त्री, आधा दर्जन सांसद र दुई दर्जनभन्दा बढी सरकारी अधिकारी र पदमा नभएका अन्य केहीलाई पनि सहभागी गराइएको छ ।


भ्रमणका क्रममा चीनमा हुने सम्झौता, पारवहन, यातायात, सडक, पूर्वाधारमा लगानी र सहयोग तथा ऊर्जा विकास, नाकाको स्तरोन्नतिबारे विगतमा भएका सहमतिलाई कसरी र कहिले कार्यावन्यन तहमा ल्याउलान् भन्ने चासो सर्वत्र छ । चीनसँग यसअघि केही महत्त्वपूर्ण सहमति भए पनि केहीले मात्र अपेक्षित गति लिएकाले यो भ्रमणले त्यसलाई कुन ढंगले गति दिन्छ भन्नेमा कौतूहल छ ।


सन् २०१८ मा दुवै देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान हुने चर्चा भए पनि चीनबाट अझै भ्रमणबारे आश्वासन आएको छैन ।


भ्रमणका अवसरमा कोसी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रूपान्तरण गर्ने विषयदेखि रेलमार्ग अध्ययन गर्ने, तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा नाकासम्म पुर्‍याउने, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, रसुवागढी र तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माण, देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीमा हस्ताक्षर हुने बताइएको छ ।

कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । 

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । 

 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ । 

केपी ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विशेष