News समाज

सिथी नखः पर्व मनाइँदै

सिथी नखः पर्व मनाइँदै

काठमाडौं । कला र संस्कृतिमा धनी नेवार समुदायले सिथी नखः (पर्व) मनाउँदै छन् । यस पर्वमा  विशेषगरी मास, मुगी र केराउका बारा बनाएर खाने र यस दिन पानीका मुहान इनार, कुवाँ र धारा सफा गरिन्छ ।


प्रत्येक वर्षको कुमार शुल्क षष्ठीका दिन नेवार समुदायले सिथी नखः मनाउँछन् । नखः भन्नाले नेवारीमा पर्वलाई जनाउँछ ।  भगवान् शिवका ज्येष्ठ पुत्र कार्तिकेय अर्थात् कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको विशेष पूजाआजा गरिन्छ । नेवारी संस्कृतिमा बारालगायत अन्य पकवान खानाले वर्षायाममा धान रोपाइँ गर्न तागत वृद्धि हुने जनविश्वास रहँदै आएको छ ।

 

सिथी नखःलाई नेवार सम्प्रदायमा चालु वर्षको अन्तिम चाडबाडको रूपमा लिइन्छ । सिथीपछि आगामी श्रावण कृष्ण चर्तुदशी श्रावण २५ गते) गथाँमुग चःह्रे (घण्टाकर्ण) देखि मात्र नेवारहरूको नयाँ चाडबाड सुरु हुन्छ ।  यसअघि धान रोपाइँ ( सिन्या ज्याः) का काममा किसानहरू व्यस्त रहन्छन् । 
संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शक्ति प्राप्त हुनेछ । 


सिथी नखका दिन इनार, कुवाँ र सार्वजनिक पानीका मुहान सफा गर्नाले रोगव्याधि नलाग्ने समाजमा सन्देश प्रवाह हुने  संस्कृतिकर्मी श्रेष्ठ बताउँछन् । 
उनले सिथी नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउने प्रचलन रहेको बताए । 
 

सिथी नेवार समुदाय

विशेष